दाङमा मोबाइल चोरी गर्ने जेम्स नेपालीलाई ६ महिना कैद र ५ हजार जरिवाना

janmakaid

तुलसीपुर, २६ साउन ।
दाङ जिल्ला अदालतले मोबाइल चोरी गरेको कसुरमा एक युवकलाई कैद र जरिवानाको फैसला सुनाएको छ । जिल्ला न्यायाधीश राजेश्वर अर्यालको इजलासले घोराही उपमहानगरपालिका वडा नं. १४ नयाँ बसपार्क बस्ने सौगात भन्ने जेम्स नेपालीलाई ६ महिना कैद र ५ हजार रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको हो ।

गएको बर्ष कार्तिक १७ गते राति घोराही-१४ पुलचोक बस्ने सिरेश नेपालीको घरबाट चार्जमा राखिएका दुईवटा मोबाइलहरू चोरी भएका थिए । घरका सदस्यहरू शौचालय जानका लागि उठ्दा ढोकाको चुक्कुल लगाउन भुलेको मौका छोपी रातीको समयमा मोबाइल चोरी भएको जाहेरीमा उल्लेख छ ।

चोरी भएको भोलिपल्ट दिउँसो घोराहीको आर्मी ब्यारेक चोक नजिकै शंकास्पद रूपमा हिडिरहेको अवस्थामा प्रहरीले जेम्स नेपालीलाई पक्राउ गरेको थियो । खानतलासी गर्दा निजको खल्तीबाट सिरेश नेपालीको घरबाट चोरी भएका दुईवटा र अर्को एउटा पोको गरी जम्मा ३ थान मोबाइल फेला परेका थिए ।


प्रतिवादी जेम्स नेपालीले प्रहरीसमक्षको बयानमा चोरी गरेको स्वीकार गरे तापनि अदालतमा भने आफूले अत्यधिक मादक पदार्थ सेवन गरेको र नसाको सुरमा के गरे भन्ने थाहा नभएको दाबी गरेका थिए । उनले ती मोबाइलहरू प्रहरीलाई बुझाउन जाँदै गर्दा पक्राउ परेको जिकिर गरे तापनि अदालतले उपलब्ध प्रमाणका आधारमा उनलाई दोषी ठहर गरेको    छ ।

अदालतले कैद र जरिवानाका साथै अपराध पीडित संरक्षण ऐनु बमोजिम पीडित राहत कोषमा २०० रुपैयाँ जम्मा गर्न समेत आदेश दिएको छ। यसै गरी, मुद्दाको पुर्पक्षका क्रममा १५ हजार रुपैयाँ धरौटी बुझाएर तारेखमा रहेका नेपालीले अदालतको तारेख गुजारेका कारण निजको धरौटी रकम समेत जफत भई राज्य कोषमा जम्मा हुने फैसलामा उल्लेख छ ।