तुलसीपुरमा चुनढुंगा उत्खनन् अनुमति अपडेट: आईईई गर्न बाँकी, सबै कागजात तयारी भएको भेटियो

तुलसीपुर
९ फागुन / तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको मुहान क्षेत्रबाट चुनढुंगा उत्खनन् गर्नकालागि अनुमति दिने तयारी गरेपछि खानी तथा भूगर्भ विभागलाई ध्यानाकर्षण गराईएको छ । आईतबार विभागमै पुगेर ध्यानाकर्षण गराएको उपाध्यक्ष सिताराम शर्माले बताए । उनका अनुसार विभागमा प्रारम्भीक वातावरणीय परीक्षण (आईईई) गर्न मात्रै बाँकी रहेको र त्यो बाहेक अन्य सबै कागजात तयारी बनाएको पाईएको छ ।

अब आईईई गरेपछि उनीहरुले अनुमति पाउने गरि तयारी गरिएपछि आफूहरुले ध्यानाकर्षण गराएको उनको भनाई छ ।उत्खनन् अनुमतिकालागि प्रक्रिया अगाडी बढाएको क्षेत्र तुलसीपुरको वडा नं.३ र ४ मा पर्छ । आईईईकालागि उपमहानगरपालिका र वडा कार्यालयहरुको सहमति हुनुपर्ने भन्दै आफूहरुले अब वडा र उपमहानगरपालिकालाई सहमति नजनाउन दवाव दिने उपाध्यक्ष शर्माले बताए । त्यहाँबाट ९ किलोमिटर क्षेत्रफलमा चुनढुंगा उत्खनन् गर्ने गरि प्रक्रिया अघि बढेको छ ।


यदि त्यहाँ चुनढुंगा उत्खनन् गरेपछि खानेपानीका मुहान सुक्ने भन्दै आफूहरुले सचेत बनाएको सचिब सेवकराम भण्डारीको भनाई छ । त्यसैले आफूहरुले रोक्का गर्न समेत माग गरेको उनले बताए । ध्यानाकर्षण गराउन अध्यक्ष यमकान्त भण्डारी, उपाध्यक्ष शर्मा, सचिब भण्डारी,कोषाध्यक्ष भोलाप्रसाद थापासहितको टोली काठमाडौं गएको छ । त्यस्तै सहलगानीको कार्य पनि अघि बढाउन थालिएको छ ।