
तुलबहादुर कवँर मगर
सिसहनियाँ, २५ साउन ।
राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले व्यवसायीले आफ्नो व्यवसायप्रति व्यावसायिक इमानदारी, अनुशासन र असल आचरण कायम गर्नुपर्ने बताउनुभएको छ। व्यवसायमा गलत आचरणले प्रश्रय पाए बजारको विश्वसनीयता घट्ने उहाँको भनाइ छ।
सिसहनियाँ उद्योग वाणिज्य संघको १२औँ स्थापना दिवसका अवसरमा सोमबार आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष विष्टले स्थानीय सरकार र निजी क्षेत्रबीचको सहकार्यले मात्रै आर्थिक तथा सामाजिक विकासलाई गति दिन सक्ने बताउनुभयो।
उहाँले व्यवसायी संघले व्यवसायिक मर्यादा कायम गर्दै गलत आचरणलाई निरुत्साहित गर्नुपर्ने धारणा राख्नुभयो। बजारमा ग्यासलगायत अत्यावश्यक वस्तुको अभाव हुन नदिन स्थानीय सरकारले नियमित रूपमा बजारको सूक्ष्म निगरानी गरिरहेको पनि उहाँले जानकारी दिनुभयो।
स्थापना दिवसका अवसरमा उद्योग वाणिज्य संघले राप्ती आधारभूत अस्पताल कालापानीलाई ५० हजार रुपैयाँ बराबरको औषधि सहयोग गरेको छ। संघका अध्यक्ष इश्वरीप्रसाद अधिकारीले अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सुशील केसीलाई औषधि हस्तान्तरण गर्नुभयो।
त्यस्तै संघले जन्मजात अपांगता भएका राप्ती–५ करङ्गेकोटका खिमानन्द तिवारी र राप्ती–८ पिपरीकी उषाबीनु चौधरीलाई अपांगमैत्री कुर्सी सहयोग गरेको छ।
कार्यक्रममा राप्ती गाउँपालिकाले ‘प्लास्टिकमुक्त राप्ती’ अभियानअन्तर्गत संघलाई पहिलो चरणमा १२ सय थान कपडाका झोला हस्तान्तरण गरेको थियो।
वि.सं. २०७१ साल साउन २५ गते स्थापना भएको संघमा हाल राप्ती गाउँपालिकाका वडा नम्बर ५, ६, ७ र ८ का करिब ८ सय उद्योगी तथा व्यवसायी आबद्ध छन्।



लाइभदाङ । २५ श्रावण २०८३, सोमबार २१:०८ बजे