घोराही–तुलसीपुर रुट: समयमा नपुग्ने लोकल गाडी, विकल्प खोज्दा विद्यार्थीलाई धम्की र गाली

 दाङ, २५ साउन । दाङको मुख्य सडकखण्ड घोराहीदेखि तुलसीपुर र तुलसीपुरदेखि घोराही आउजाउ गर्ने विद्यार्थीहरूले विगत लामो समयदेखि यातायातका क्षेत्रमा गम्भीर सास्ती खेपिरहेका छन् ।

कलेज, विद्यालय र अस्पतालमा निश्चित समयमा पुग्नुपर्ने बाध्यता रहेका विद्यार्थीहरूका लागि स्थानीय यातायातको सुस्त गति मुख्य बाधक बनेको छ। स्थानीय गाडीहरूले ठाउँ-ठाउँमा रोक्ने र ‘कछुवाको चाल’ मा यात्रा गराउने हुनाले गन्तव्यमा पुग्न डेढ घण्टाभन्दा बढी समय लाग्ने गरेको छ, जसका कारण विद्यार्थीहरूको पढाइ र ड्युटीमा प्रत्यक्ष असर परिरहेको छ ।

समयमै कलेज पुग्ने उद्देश्यले जब विद्यार्थीहरूले बुटवल वा काठमाडौँ जाने लामो दूरीका गाडीहरू प्रयोग गर्न खोज्छन्, तब उनीहरू स्थानीय यातायात व्यवसायी र काउन्टरका कर्मचारीहरूबाट अमानवीय व्यवहारको सिकार हुने गरेका छन्  व्यवसायीहरूले विद्यार्थीहरूलाई गाडीबाट जबर्दस्ती तानेर ओराल्ने, उनीहरूका सरसामान वा चप्पल खोसिदिने र सार्वजनिक स्थलमै अश्लील शब्द प्रयोग गरी गालीगलौज गर्ने जस्ता कार्यहरू गरिरहेका छन् । यो व्यवहारले विद्यार्थीहरूको आत्मसम्मानमा चोट पुर्‍याउनुका साथै उनीहरूलाई मानसिक रूपमा त्रसित बनाएको छ ।


कुनै पनि नागरिकलाई आफू अनुकूलको सवारी साधन छनोट गर्ने पूर्ण अधिकार हुन्छ, तर यहाँ विद्यार्थीहरूले आफ्नो मौलिक अधिकार प्रयोग गर्न खोज्दा अपमानित हुनुपर्ने अवस्था छ । यस्तो गैरकानुनी र अराजक नियम अन्य कतै नभएको र यसले मानव अधिकारको समेत उल्लंघन गरेको महसुस गरिएको छ । यो गम्भीर समस्या समाधानका लागि अब सहेर बस्नुभन्दा विद्यार्थी युनियनहरूले सशक्त आवाज उठाउनु पर्ने र जिल्ला प्रशासन कार्यालय तथा प्रहरी प्रशासनमा संयुक्त रूपमा उजुरी दर्ता गराई कानुनी उपचार खोज्नु पर्ने आवश्यकता देखिन्छ ।

यो समस्या दाङको घोराही-तुलसीपुर नियमित आवतजावत गर्ने विद्यार्थीको पीडालाई आधार बनाएर तयार पारिएको हो । गोपनियता र सुरक्षालाई मध्यनजर गर्दै उनको नाम सार्वजनिक गरिएको छैन ।