
घोराही, २४ साउन ।
सामान्यतया विद्यालय भन्नेबित्तिकै हाम्रो मानसपटलमा कक्षाकोठा, कालोपाटी र बेन्च–डेस्कको चित्र नाच्छ। तर दाङको तुलसीपुरस्थित सगरमाथा स्कुलले शिक्षालाई कक्षाकोठाको चौघेराबाट बाहिर निकालेर विद्यार्थीको घरदैलोसम्म र्पुयाउने एक सराहनीय प्रयास सुरु गरेको छ । विद्यालयको शैक्षिक उत्तरदायित्व कक्षाकोठामा मात्र सीमित हुँदैन भन्ने मान्यतालाई आत्मसात् गर्दै स्कुलले हालै ‘घरदैलो शैक्षिक अभियान’ सञ्चालन गरेको छ ।
विद्यालयका शिक्षकहरू हातमा शैक्षिक परामर्शका सामग्री र अध्ययन तालिका बोकेर विद्यार्थीको घर–घर पुगिरहेका छन् । विद्यालयको‘कम्युनिटी आउटरिच डिपार्टमेन्ट’ को आयोजनामा सुरु भएको यस अभियानअन्तर्गत कक्षा ८ मा अध्ययनरत ४० जना विद्यार्थीका घरमा पुगेर अध्ययन तालिका वितरण गरिएको छ ।
यस अभियानको नेतृत्व सहायक प्रधानाध्यापक तथा कार्यक्रम संयोजक केशर सिंह बुढाथोकीले गरेका छन् । विद्यार्थीले घरमा कसरी पढिरहेका छन्, उनीहरूको सिक्ने वातावरण कस्तो छ र उनीहरूलाई कस्ता समस्या परेका छन् भन्ने कुरा नजिकबाट नियाल्नु यस अभियान सञ्चालन गरिएको उनले बताए ।
विद्यालय, परिवार र समुदाय नगरस्तरीय परीक्षालाई लक्षित गरी सुरु गरिएको यो अभियान केवल तालिका बाँड्नमा मात्र सीमित छैन। यसले विद्यालय, अभिभावक र विद्यार्थीबीचको सम्बन्धलाई थप बलियो बनाउने लक्ष्य राखेको राखिएको छ ।
विद्यालयका प्रधानाध्यापक छविकुमार वलीका अनुसार, ‘विद्यालयको शैक्षिक दायित्व कक्षाकोठामा पढाएर मात्र पूरा हुँदैन। विद्यालय, परिवार र समुदायबीचको प्रभावकारी सहकार्यले मात्र विद्यार्थीको सिकाइ उपलब्धिलाई सुदृढ बनाउन सकिन्छ ।’
अभिभावकहरूलाई पनि घरमा अध्ययनमैत्री वातावरण निर्माण गर्न, विद्यार्थीको पढाइमा निगरानी राख्न र विद्यालयसँग निरन्तर समन्वय गर्न यस अभियानमार्फत प्रेरित गरिएको छ । विद्यालय आफैँ घरमा आएर आफ्ना नानीबाबुहरूको पढाइप्रति चासो देखाउँदा अभिभावकहरू निकै उत्साहित देखिएका छन् । विद्यालयले देखाएको यो प्रत्यक्ष चासो र सहकार्यको उनीहरूले मुक्तकण्ठले प्रशंसा गरेका छन् । योजनाबद्ध अध्ययनको संस्कार विकास गर्न यो कदम कोसेढुङ्गा सावित हुने उनीहरूको विश्वास छ ।



लाइभदाङ । २४ श्रावण २०८३, आईतवार १६:३९ बजे