गढवामा भू–संरक्षणका लागि बाँस रोपण

आलोक भावुक
गढवा, २४ साउन ।
भू–संरक्षण दिवसको अवसरमा दाङको गढवा गाउँपालिका–१ मलमलामा बाँस रोपण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। बुढीखोला भूमि अधिकार कृषक समूहको आयोजनामा भएको कार्यक्रममा भू–क्षय नियन्त्रण, पहिरो रोकथाम, वातावरण संरक्षण तथा बाँस खेती प्रवर्द्धनका विषयमा छलफल गरिएको हो।

बुढीखोला भूमि अधिकार कृषक समूहका अध्यक्ष केशवबहादुर परियारको अध्यक्षता तथा गढवा गाउँपालिका–१ का वडाध्यक्ष बाबुराम अधिकारीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो। कार्यक्रममा पहिरो तथा भू–क्षयको जोखिम रहेका क्षेत्रमा बाँसका बिरुवा रोपिएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै वडाध्यक्ष अधिकारीले मानिसको जीवन र जीविकोपार्जन जमिनसँग प्रत्यक्ष जोडिएको भन्दै भू–संरक्षणलाई सबैले प्राथमिकतामा राख्नुपर्ने बताए। उनले भू–क्षय तथा पहिरो नियन्त्रणका लागि वृक्षरोपण प्रभावकारी उपाय भएको उल्लेख गर्दै फलफूलका बिरुवासँगै बाँस रोप्नुपर्नेमा जोड दिए।

बाँस बहुउपयोगी वनस्पति भएकाले वातावरण संरक्षणसँगै स्थानीय समुदायको आयआर्जनमा समेत योगदान पुर्‍याउन सक्ने उनको भनाइ थियो। पहिरोको जोखिम भएका क्षेत्रमा बाँस रोप्दा यसको जराले माटो समातेर भू–क्षय तथा पहिरोको जोखिम न्यूनीकरणमा सहयोग पुग्ने उनले बताए।

कार्यक्रममा यूएन–ह्याबिट्याटका गोपाल विकले भू–संरक्षण दिवसको अवसरमा जोखिमयुक्त क्षेत्रमा बाँस रोपिएको जानकारी दिए। उनले बाँस छिटो बढ्ने र बहुउपयोगी वनस्पति भएकाले यसको संरक्षण तथा प्रवर्द्धनबाट वातावरणीय संरक्षणसँगै स्थानीय समुदायको आर्थिक अवस्थामा सुधार ल्याउन सकिने बताए।


भू–संरक्षण सरकारी निकायको मात्र जिम्मेवारी नभएको भन्दै विकले स्थानीय समुदाय, किसान समूह तथा सरोकारवालाको सहभागितामा संरक्षण अभियान अघि बढाउनुपर्नेमा जोड दिए।

कार्यक्रममा सहभागीहरूले बिरुवा रोप्ने मात्र नभई त्यसको संरक्षण र हुर्काउनेतर्फ पनि ध्यान दिनुपर्ने बताए। उनीहरूले वृक्षरोपणलाई निरन्तरता दिँदै भू–क्षय, पहिरो तथा वातावरणीय जोखिम न्यूनीकरणमा सामूहिक प्रयास आवश्यक रहेको बताए।

भूमिहीन तथा बटैया किसानहरूको सुरक्षा सञ्जाल तथा हरित ग्रामीण नेपालको ‘भूसम्बन्ध समाधान तथा सार्वजनिक जग्गा पुनः हरितीकरण’ कार्यक्रमअन्तर्गत बुढीखोला मलमला भूमि अधिकार कृषक समूहले २०८२ मंसिर २९ गते सम्झौता गरेको थियो। सो कार्यक्रमअन्तर्गत ४ बिघा क्षेत्रफलमा २९ घरधुरी किसान विभिन्न तरकारी बाली उत्पादनमा संलग्न छन्। सार्वजनिक जग्गा बाँझो नराखी खेतीपातीमा प्रयोग गर्ने उद्देश्यले किसानलाई एकीकृत गरी कार्यक्रम अघि बढाइएको हो।

समूहकी सदस्य कमल परियारको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव रिता कुमालले गरेकी थिइन्। कार्यक्रममा स्थानीय किसान, समूहका सदस्य तथा विभिन्न सरोकारवालाको सहभागिता थियो।