तुलसीपुरमा बृहत सिकाई मेला

तुलसीपुर, २८ पुस । दाङको तुलसीपुरमा बृहत सिकाई मेला भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं. १ स्थित बीरेन्द्र मावि भ्यूडहर सुनपुर आईतबार सिकाई मेला भएको हो ।

मेलामा सामुदायिक र संस्थागत सबै विद्यालयका विद्यार्थीहरुले आफ्ना कलाहरु प्रस्तुत गरेका थिए । स्थानीय कला, घरेलु तथा हस्तकलाका सामग्रीको प्रदर्शनी, चित्रकला, सौर्य उर्जाको प्रयोग र पर्यावरणीय संरचनाको प्रदर्शनी लगायत विभिन्न सामग्रीहरुको प्रर्दशन गरेका थिए ।

त्यस अवसरमा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काले सामुदायिक र संस्थागत विद्यालयका शिक्षकहरुको भूमिका एउटै हुनुपर्ने बताउनुभयो । उहाँले संस्थागत विद्यालयका विद्यार्थीहरुले राम्रो नतिजा ल्याउने तर, सामुदायिक विद्यालयका विद्यार्थीहरु कमजोर हुने अबस्थाको अन्त्य गर्न सबै पक्ष जिम्मेवार हुनुपर्ने बताउनुभयो ।


त्यस्तै पत्रकार टिकाराम यात्रीले अबको शिक्षा प्रविधिमैत्री हुनुपर्ने बताउनुभयो ।

कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्थानी चौधरी, सामाजिक विकास समितिका संयोजक मान बहादुर रावत, लगायतले मन्तव्य व्यक्त गरेका थिए । विद्यालयका प्रधानाध्यापक टोप बहादुर घर्तीले स्वागत मन्तव्य ब्यक्त गरेको कार्यक्रमको सहजीकरण डा. जित बहादुर गिरीले गरेका थिए ।