रेडक्रस शिक्षक नायकलाई डेङ्गु रोकथामबारे अभिमुखीकरण

घोराही, २४ साउन ।
नेपाल रेडक्रस सोसाइटी जुनियर युवा समिति दाङको आयोजना तथा घोराही उपशाखाको सहआयोजनामा घोराही उपमहानगरपालिकामा गठित रेडक्रस सर्कलका शिक्षक नायक तथा स्वयंसेवकलाई डेङ्गु रोग रोकथाम तथा नियन्त्रणसम्बन्धी अभिमुखीकरण दिइएको छ।

जनस्वास्थ्य प्रवर्द्धन शाखा घोराहीको प्राविधिक सहयोगमा आइतबार घोराहीमा आयोजित कार्यक्रममा ३७ जना शिक्षक नायक तथा स्वयंसेवकको सहभागिता थियो।

कार्यक्रममा घोराही उपमहानगरपालिकाको स्वास्थ्य शाखा प्रमुख राधा पौडेलले डेङ्गु रोग, यसको लक्षण, बच्ने उपाय, विश्वव्यापी प्रभाव तथा नेपाल सरकारले अपनाएका र आगामी दिनमा सञ्चालन गर्ने रणनीतिबारे जानकारी गराएकी थिइन्।


उनले डेङ्गु नियन्त्रणका लागि लामखुट्टेको वृद्धि रोक्नुका साथै व्यक्तिगत तथा सामुदायिक सरसफाइमा विशेष ध्यान दिनुपर्नेमा जोड दिइन्। विद्यालय तथा समुदायस्तरमा सचेतना फैलाउन शिक्षक नायक र स्वयंसेवकको भूमिका महत्वपूर्ण हुने उनको भनाइ थियो।

जुनियर युवा रेडक्रस दाङका संयोजक भीमलाल मरासिनीको अध्यक्षता तथा नेपाल रेडक्रस सोसाइटी दाङका मन्त्री प्रकाश श्रीवन्दको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा शिवा थापा, गिरिराज भट्टराई र मिनराज गौतमलगायतले मन्तव्य व्यक्त गरेका थिए। घोराही उपशाखाका थम्मन चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव इन्द्र बुढाथोकीले गरेका थिए।