तुलसीपुर उपमहानगरको एम्बुलेन्स दुर्घटना, डेढ महिने शिशुको मृत्यु

दीपक बोहरा
दाङ, २४ साउन ।
दाङ तुलसीपुर उपमहानगरपालिकाको एम्बुलेन्स दुर्घटना भएको छ । शनिबार साँझ ९ बजेतिर विरामी परेका शिशुको उपचारकालाग नेपालगञ्ज लैजादै गर्दा तुलसीपुर ११ उरहरीमा एम्बुलेन्स दुर्घटनामा परेको हो ।

दुर्घटना हुँदा तुलसीपुर ९ निवासी अनिल पुनका डेढ महिने शिशु आमाको हातबाट झरेर सिटको मुनी पुगेकी थिइन । सिटको मुनीबाट उनलाई निकालिएको परिवारले बताएको छ । यसरी सोही एम्बुलेन्स पल्टिदा ति शिशुको मृत्यु भएको परिवारको दावी छ । यद्यपी प्रहरीले भने विरामी भएकाले मृत्यु भएको हो, वा दुर्घटनाबाट मृत्यु भएको हो, भन्ने कुराको पुष्टि भइनसकेको बताएको छ ।


हलवार स्वास्थ्य चौकीको रा १ झ २११ नम्बरको एम्बुलेन्समा उपचारकालागि जाँदै दुर्घटनामा परेको हो । शिशु रोइरहने गरेपछि परिवारले उपचारकागि नेपालगञ्ज लैजान लागेका थिए । उक्त एम्बुलेन्स दुर्घटना भएपछि अर्को एम्बुलेन्स बोलाएर विरामीलाई नेपालगञ्ज लगिएको थियो ।

तुलसीपुरमा बालरोग विशेषज्ञ नभेटिएपछि उनीहरुले थप उपचारकालागि नेपालगञ्ज लैजान लागेका हुन् । अहिले उपमहानगरपालिकाका नगर प्रमुख, इप्रका तुलसीपुरका प्रमुख, पीडितसहितको टोली छलफलमा जुटेको छ । सोही दुर्घटनामा अन्य तीन जना सामान्य घाइते भएका छन् ।