
दीपक बोहरा
दाङ, २६ साउन ।
दाङमा एक १५ वर्षीया नाबालिग किशोरीले बच्चा जन्माएपछि बलात्कारको मुद्दा दर्ता गरिएको छ । रोल्पा त्रिवेणी गाउँपालिका वडा नं.७, सिवाङ घर भई हाल दाङको घोराही उपमहानगरपालिका वडा नं. १५, शुभलक्ष्मी टोलमा डेरा गरी बस्ने २० वर्षीय सन्तोष बस्नेत विरुद्ध बलात्कारको मुद्दा दर्ता गरिएको हो ।
किशोरीलाई विवाहको प्रलोभन देखाएर करणी गरेको भन्दै सोमबार जिल्ला अदालत दाङमा अभियोगपत्र दर्ता गरिएको छ । कक्षा १० मा अध्ययनरत ति बालिकाको घर प्यूठान हो,उनी घोराहीको भरतपुरमा कोठा भाडामा बस्थिन । त्यही क्रममा २०८१ भदौ ४ गते ‘जरुरी काम छ’ भन्दै फकाएर किशोरीलाई आफ्नै कोठामा बोलाई जबरजस्ती करणी गरेको र त्यसकै कारण उनी गर्भवती भएको अभियोग पत्रमा उल्लेख छ ।
किशोरी गर्भवती भएको विषय लामो समयसम्म गोप्य रहेपनि उनले २०८२ असार ९ गते नेपालगन्ज मेडिकल कलेज, कोहलपुरमा मार्फत छोरीलाई जन्म दिएपछि मात्रै रहस्य खुलेको हो । त्यो भन्दा अघि केटीको घर परिवारलाई समेत थाहा नभएको पीडित पक्षले खुलाएका छन् ।
बच्चा जन्मिएपछि मात्र वारदात स्थापित हुन आएको र त्यसपछि पीडितकी आमाले दिएको जाहेरीका आधारमा प्रहरीले अनुसन्धान अघि बढाएको थियो । ति केटाले जबरजस्ती करणी गरेकाले पेटमा बच्चा बसेको पीडित बालिकाकी आमाले जाहेरीमा खुलाएकी छन् । उद्यपी करणी पछि पनि केटा र केटीको कुरा भइरहनेसमेत जाहेरीमा उल्लेख छ । करणीपछि भेट भने नभएको जाहेरीमा छ । कसैलाई नभन्नु भनि कोठाबाट निस्किन नदिदा नै पेटमा बच्चा भएको कुरा कसैलाई थाहा नभएको पीडितकै आमाले खुलाएकी छन् ।
पीडितको सुरक्षा र गोपनीयताका लागि उनको नाम उल्लेख गरिएको छैन । प्रतिवादी बस्नेतले भने आफूले बच्चा पेटमा बसिसकेपछि विहे गर्ने प्रस्ताब गरेको बयान दिएका छन् ।



लाइभदाङ । २६ श्रावण २०८३, मंगलवार ०६:०७ बजे