`हामी बालबालिकाकाे भबिष्यकाे खिल्ली उडाउन दिदैनाैं´

आदरणीय अभिभावकज्यूहरू र प्रिय विद्यार्थी भाइबहिनीहरू,

हामी तपाईंहरूसामु एक महत्वपूर्ण सन्देश राख्न चाहन्छौं।
पन्चायतकालिन समय, राजतन्त्रको समय समाप्त पछि पनि गणतन्त्र आएको यति समय भैसकेको परिस्थिति, नयाँ संविधान बनेको पनि यति समय भैसक्यो तर अहिले सम्म उहीँ पुरानै २०२८ सालको शिक्षा ऎनबाट अहिलेको शिक्षा चलिरहेको शन्दर्भ छ।

नेपाल सरकारले शिक्षक(कर्मचारी सङ्ग पटकपटक पटक सम्झौता गर्ने तर कार्यान्वयन नगर्ने र नयाँ शिक्षा ऐन जारी गर्नमा अत्यधिक ढिलाइ गरिरहेकाले हामी शिक्षक समुदाय आन्दोलनमा होमिन बाध्य भएका छौं। यो हामी शिक्षकको मात्रै व्यक्तिगत स्वार्थको लागि नभई संविधानको कार्यान्वयन सहित सम्पूर्ण शिक्षा प्रणाली सुधार गर्ने र हाम्रा प्रिय विद्यार्थीहरूको उज्ज्वल भविष्य सुनिश्चित गर्न गरिएको संघर्ष हो।


हामी शिक्षा प्रणालीलाई समयानुकूल, समावेशी र न्यायपूर्ण बनाउन अग्रगामी शिक्षा ऐनको माग गर्दैछौं। यस्तो ऐनले बालबालिकाको अधिकार सुनिश्चित गर्नुका साथै उनीहरूको क्षमता विकास, अवसरको समानता, र गुणस्तरीय शिक्षामा पहुँच सुनिश्चित गर्नेछ।

हामी अभिभावक र विद्यार्थीहरूलाई यस अभियानमा हाम्रो उद्देश्यप्रति बुझाइ राखिदिनुहुने विश्वास लिएका छौं। यसबाट विद्यार्थीमा परेको मर्का हामिले बुझेका छौं । पक्कैपनि यो अभियान सफल भएपछी हामीले साँझ, बिहान, बिदाको समय सदुपयोग गर्दै पठनपाठनलाई अझ प्रभावकारी तरिकाले लैजाने र आन्दोलनको समयमा भएको शैक्षिक क्षती पुर्ती गर्ने प्रतिबद्धता पनि व्यक्त गर्दछौ। यो अभियानमा सबैको सहयोगको पुर्ण अपेक्षा लिएका छौ।

सरकारको ध्यान आकृष्ट गराउँदै, हामी सबै शिक्षकहरूको तर्फबाट यही भन्न चाहन्छौं—हामी कुनै पनि हालतमा बालबालिकाको भविष्यको खिल्ली उड्न दिनेछैनौं। हामी शिक्षा सुधारको पक्षमा सदैव उभिन्छौं। अन्त्यमा, तपाईंहरूको साथ, समर्थन र समझदारीप्रति हामी कृतज्ञ छौं।
शिक्षा हाम्रो साझा सपना हो—यसलाई सुरक्षित राख्न हामी सबैको कर्तव्य हो।
धन्यवाद।
शुभेक्षा सहित
मान बहादुर बस्नेत
(मा वि बिज्ञान शिक्षक हाल माइतीघर-बानेश्वर सडक खण्डबाट )