बन्दुकको गोली लागेर सल्यानमा एक जनाको मृत्यु

फागुन ३०, सल्यान ।
बन्दुकको गोली लागेर सल्यानमा एक जनाको मृत्यु भएको छ । जिल्लाको बनगाड कुपिण्डे नगरपालिका वडा नं. ९ स्वारा नजिकैको जंगलमा सोमबार बेलुका साढे ५ बजेतिर शिकार खेल्न गएका एकजनाले बोकेको बन्दुक पट्किएर अर्का एक जनाको मृत्यु भएको हो ।

शिकार खेल्न गएका अन्दाजी ४० वर्षीय आइते रावतले बोकेको भरुवा बन्दुक एक्कासी पड्किएर अन्दाजी १६ वर्षीय चित्र बहादुर रावतको मृत्यु भएको हो । दुवै जना सँगै स्वारा नजिकैको बाहुननाका जंगलमा शिकार खेल्न गएका थिए ।


बन्दुकको गोली पेट र घाटिमा लागी घाइते भएका चित्र बहादुरलाइ औषधि उपचारको लागि गाडीमा सुर्खेत तर्फ लिदै गर्दा सोहि नगरपालिकाको वडा नं. ७ ओरघाटमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

घटना पश्चात प्रहरी घटनास्थलमा पुगेको र शवलाइ पोस्टमार्टमका लागि जिल्ला अस्पताल सल्यानमा लगिएको छ । घटना घटाउने आइते रावत फरार रहेको र उनको खोजि कार्य भैरहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता इनिस्पेक्टर सन्तोष खनालले बताए ।