श्रीमतिले आफै हत्या गरिन, अनि खोजी गरिदिने निवेदन दिइन

दाङ
७ फागुन /
दाङमा परपुरुषसंग मिलेर एक महिलाले श्रीमानको हत्या गरेकी छिन् । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक मुकुन्द प्रसाद रिजालका अनुसार राप्ती गाँउपालिका वडा नं. ३ वसन्तपुर निवासी करिब ५० बर्षीया उमादेवी चौधरीले आफ्ना श्रीमान ५४ बर्षीय लप्टेन चौधरीको हत्या गरेकी हुन् । उनले मसुरीया निवासी ५२ बर्षीय हनुमान चौधरीको सहयोगमा श्रीमतिले आफ्ना श्रीमानको हत्या गरेको प्रहरीले बताएको छ ।
उनकी श्रीमति उमादेवीले श्रीमान गोबरडिहा काममा जान्छु भनी फागुन १ गते विहान साढे ६ बजे हिडेको र अझै सम्म पनि नआएको भनेर खोजीकालागि प्रहरी समक्ष निवेदन समेत दिएकी थिइन । फागुन ५ गते उनले निवेदन दिएपछि प्रहरीले खोजी कार्य अघि बढाएको थियो । सोही क्रममा चौधरीको शव गढवा गाउँपालिका वडा नं. २ स्थित राप्ती नदीको किनारमा फेला परेको थियो । उनको शव भेटिएपछि हत्या भएको हुन सक्ने भन्दै अनुसन्धान थालेको थियो । शंकास्पद देखिएपछि श्रीमतीलाई नै पक्राउ गरेपछि घटनाको रहस्य खुलेको हो । उमादेवीले हनुमानको सहयोगमा श्रीमानको हत्या गरेको स्वीकार गरिसकेकी छिन् ।
श्रीमान र श्रीमतीको सम्बन्ध लामो समयदेखि विग्रिएको स्थानीयले बताएका छन् । उमादेवीले श्रीमानले आफूलाई कुटपिट गर्ने गरेको बयान दिएकी छिन् । साथै श्रीमानले आफूलाई हनुमानसंग अबैद्य प्रेम सम्बन्ध रहेको भनि समाजमा बेइज्जत गरेको समेत बयान दिएकी छिन् । हत्या गर्ने योजना पहिले देखि नै रहेको बुझिएको छ । सोही क्रममा माघ २९ गते आफूलाई हातपात गरेको र श्रीमानले ज्यान मार्ने धम्की दिएको भनि उमादेवीले हनुमानलाई फोन गरेकी थिइन । हनुमानलाई फोन गरेर श्रीमान नसामा लठ्ठ भएपछि उमादेवी १२ बर्षीया छोरीलाई लिएर अर्को कोठामा सुत्न गएकी थिइन । सोही दिन राति १० बजेतिर हनुमान चौधरी घरको दक्षिणपट्टीको खुल्ला रहेको ढोकाबाट घर भित्र पसी लप्टेनलाई छातिमा मुड्कीले हानी मृतक छटपटाउन लागेपछि भुईमा लडाई घाँटी च्यापी हत्या गरेको भनि बयान दिएको प्रहरीले बताएको छ । हत्या पछि उनीहरुले आफैले पिठ्युमा बोकी नदीमा लगेर फालेका थिए । उनीहरुले एक जोर जुता समेत साथमा लगेर फालेको समेत बयान दिएका छन् । यस विषयमा अनुसन्धान भइरहेको छ ।