अन्धविश्वास होइन, उचित उपचार र मनोसामाजिक सहयोगमा जोड दिन अध्यक्ष गिरीको आग्रह

दंगीशरण, २३ भदौ ।
दंगीशरण गाउँपालिका–६ बागरमा परम्परागत उपचारकर्ताहरूका लागि मानसिक स्वास्थ्य तथा मनोसामाजिक सहयोगसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।

बागर सामुदायिक सिकाइ केन्द्र दंगीशरणको आयोजना, दंगीशरण गाउँपालिकाको स्वास्थ्य शाखाको समन्वय, युनिसेफ नेपालको सहयोग तथा समुन्नत नेपालको प्राविधिक सहजीकरणमा कार्यक्रम सम्पन्न भएको हो।

बागर सामुदायिक सिकाइ केन्द्रका अध्यक्ष चुल्या चौधरीको अध्यक्षता तथा दंगीशरण गाउँपालिकाका अध्यक्ष शम्भु गिरीको प्रमुख आतिथ्यतामा कार्यक्रम आयोजना गरिएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष शम्भु गिरीले मानसिक स्वास्थ्य पनि शारीरिक स्वास्थ्यजत्तिकै महत्वपूर्ण विषय भएको बताउनुभयो। उहाँले मानसिक स्वास्थ्यसम्बन्धी समस्या देखिएका व्यक्तिलाई समाजमा हेयको दृष्टिले हेर्न नहुने भन्दै समयमै समस्या पहिचान गरी उचित परामर्श, उपचार र मनोसामाजिक सहयोग उपलब्ध गराउनुपर्नेमा जोड दिनुभयो।

अध्यक्ष गिरीले समुदायमा परम्परागत उपचारकर्ताहरूको पहुँच र प्रभाव महत्वपूर्ण हुने भएकाले उनीहरूलाई मानसिक स्वास्थ्य तथा मनोसामाजिक सहयोगका विषयमा आवश्यक ज्ञान र सीप प्रदान गर्न सके समस्या भएका व्यक्तिलाई समयमै स्वास्थ्य संस्थासम्म पुर्‍याउन सहयोग पुग्ने बताउनुभयो।


“मानसिक स्वास्थ्य समस्या लुकाएर राख्ने वा अन्धविश्वासका भरमा मात्र उपचार गर्ने विषय होइन, यसलाई स्वास्थ्य समस्याका रूपमा बुझेर आवश्यक उपचार र सहयोगमा जोड दिनुपर्छ,” उहाँले भन्नुभयो।

उहाँले मानसिक स्वास्थ्यसम्बन्धी गलत धारणा र सामाजिक विभेद अन्त्य गर्न समुदायस्तरबाटै सचेतना फैलाउनुपर्ने बताउँदै गाउँपालिकाले स्वास्थ्य क्षेत्रमा जनचेतना र पहुँच विस्तारलाई प्राथमिकतामा राखेको उल्लेख गर्नुभयो।

कार्यक्रममा आधारभूत अस्पताल बागरका प्रमुख डा। आकाश सापकोटाले मानसिक स्वास्थ्य तथा मनोसामाजिक सहयोगसम्बन्धी सचेतनामूलक प्रस्तुतीकरण गर्नुभएको थियो। उहाँले मानसिक स्वास्थ्य समस्या पहिचानका आधारभूत पक्ष, समस्या भएका व्यक्तिसँग गर्ने व्यवहार, प्राथमिक मनोसामाजिक सहयोग तथा आवश्यक अवस्थामा स्वास्थ्य संस्थामा प्रेषण गर्नुपर्ने विषयमा जानकारी गराउनुभएको थियो।

कार्यसमिति सदस्य ममता परियारको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण बागर सामुदायिक सिकाइ केन्द्रकी परिचालक जया चौधरीले गर्नुभएको थियो।

अभिमुखीकरणमा सहभागी परम्परागत उपचारकर्ताहरूलाई मानसिक स्वास्थ्यसम्बन्धी आधारभूत जानकारीसँगै समुदायमा मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिको पहिचान, उनीहरूलाई आवश्यक सहयोग तथा स्वास्थ्य सेवासम्म पहुँच पुर्‍याउने विषयमा जानकारी प्रदान गरिएको थियो।