मेट्रो कलेजलाई विश्वविद्यालय बनाउने सपना छ : नगरप्रमुख पाण्डे

तुलसीपुर, २४ चैत । 

तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले तुलसीपुर मेट्रो कलेजलाई विश्वविद्यालय वनाउने सपना रहेको बताए । “हाल देशैभरबाट विद्यार्थीहरु आउनुभएको छ, यसलाई विश्वविद्यालय बनाएर अन्य देशबाट पनि विद्यार्थीहरु अध्ययन गर्न आउने बनाउन हामी लागेका छौ” उनले बताए । कलेजमा बारादेखि बाजुरासम्मका विद्यार्थीहरु अध्ययनका लागि आएको भन्दै उनले तुलसीपुर विस्तारै शिक्षाको हबका रुपमा विकास हुन लागेको बताए । “हामीले तुलसीपुरबाट विद्यार्थीहरुलाई बाहिर जान मात्रै रोकेका छैनौ, बाहिरबाट पनि विद्यार्थीहरुलाई यहाँ ल्याएका छौ” कलेजका अध्यक्ष समेत रहेका पाण्डेले भने ।


नयाँ विद्यार्थीहरुलाई स्वागत गर्नका लागि कलेजले आयोजना गरेको कार्यक्रममा बोल्दै नगरप्रमुख पाण्डेले आगामी शैक्षिक सत्रबाट स्नातकोत्तर तहका कार्यक्रम सञ्चालनको योजना रहेको बताए । कार्यक्रममा बोल्दै एनप्याब्सन दाङ्गका अध्यक्ष विमल गौतमले मेट्रो कलेज तुलसीपुरको गौरबको रुपमा रहेको वताए । प्याब्सन तुलसीपुरका अध्यक्ष डम्बर डाँगीले प्राविधिक शिक्षाका लागि बाहिर जानुपर्ने बाध्यतालाई मेट्रो कलेजले अन्त गरेकोमा खुसी व्यक्त गरे । कार्यक्रममा कलेज प्रमुख वसन्त आचार्यले सीपमुलक शिक्षालाई व्यवसायसँग जोड्नका लागि कलेजले परियोजनात्मक कार्य सञ्चालन गरेको बताए ।

विद्यार्थी डिल्ली खड्काको अध्यक्षतामा भएको कार्यक्रमको सहजिकरण सन्दिप मल्ल, विजय केसी,स्पन्दन भुषाल, विपना ढकाल लगायतले गरेका थिए । कार्यक्रममा विद्यार्थीहरुले विभिन्न साँस्कृतिक प्रस्तुति समेत राखेका थिए ।