गढवा–३ बाट जुट्यो १ लाख ५ हजार बढी राहत

आलोक भावुक
गढवा, २१ भदौ ।
बाढीपहिरोबाट प्रभावित परिवारको सहयोगका लागि गढवा गाउँपालिका ३ का युवाहरूको संयुक्त पहलमा सञ्चालित राहत संकलन अभियानमा रु. १ लाख ५ हजार ७० रकम संकलन भएको छ । अभियानमा नगदसँगै ठूलो परिमाणमा खाद्यान्न समेत संकलन गरिएको छ ।

गढवा गाउँपालिका वडा नम्बर ३ का युवाहरूको पहल तथा स्थानीय बासिन्दाको सहयोगमा संकलित राहत रकममध्ये गढवा गाउँपालिकाका बाढीपहिरोका कारण बेपत्ता भएका व्यक्तिका परिवारलाई सहयोग गरिएको छ ।

अभियानबाट संकलित रकममध्ये गढवा गाउँपालिका ३ रतनपुरका बेपत्ता दीप प्रकाश चौधरीको परिवारलाई रु। २५ हजार हस्तान्तरण गरिएको छ ।

त्यस्तै, गढवा गाउँपालिका ४ पर्साका बेपत्ता श्याम चौधरीको परिवारलाई रु। १५ हजार नगदसहित १५ बोरा चामल, १ बोरा नुन, १ बोरा दाल, १ बोरा मसला र ८ पोका तेल हस्तान्तरण गरिएको छ ।


गढवा गाउँपालिका ६ खबरीका बेपत्ता ज्ञानु पुनको परिवारलाई पनि रु। १५ हजार नगदसहित १४ बोरा चामल, १ बोरा नुन, १ बोरा दाल, १ बोरा मसला र ८ पोका तेल सहयोग गरिएको छ ।

सहयोग अभियानबाट संकलित रकममध्ये बाँकी रु। ५० हजार ७० प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा पठाउने तयारी गरिएको अभियानमा संलग्न युवा टेकेन्द्र राज रावत क्षेत्रीले जानकारी दिनु भयो। संकलित बाँकी खाद्यान्नसमेत बाढी प्रभावित क्षेत्रमा पठाउने प्रक्रिया अघि बढाइएको छ ।

बाढीपीडित परिवारको दुःखमा साथ दिँदै गढवा ३ का युवाहरू र स्थानीय बासिन्दाले देखाएको मानवीय सहयोगले विपद्को समयमा समुदायमा आपसी सहयोग र एकताको भावना थप बलियो बनेको छ ।