
सल्यान, २० भदौ ।
रसुवाको टिमुरेमा आएको बाढीमा परी बेपत्ता भएका सल्यानका एकै परिवारका चार जनाको कुसको पुतला बनाएर अन्तिम संस्कार गरिएको छ । गत भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि बेपत्ता भएका उनीहरूको ९–१० दिनसम्म पनि शव फेला नपरेपछि परम्पराअनुसार अन्त्येष्टि गरिएको हो ।
बाढीमा बेपत्ता भएकी बागचौर नगरपालिका–८ गैरागाउँकी प्रमिला बुढाथोकी बस्नेतको शनिबार शारदा नदीको कालाखेत आर्यघाटमा दाहसंस्कार गरिएको छ । त्यस्तै, प्रमिलाका माइती पक्षका दाजु ४१ वर्षीय रिमबहादुर बुढाथोकी, भाउजू ३९ वर्षीया रिता बुढाथोकी र १७ वर्षीय भतिज प्रवीण बुढाथोकीको पनि शुक्रबार मोख्लास्थित शारदा नदीको दोभानमा सामूहिक अन्त्येष्टि गरिएको छ । सोही बाढीमा परी प्रमिलाकी भतिजी लक्ष्मी बुढा पनि बेपत्ता छिन् ।
भदौ १० गते बिहान रसुवाको गोसाइँकुण्ड गाउँपालिका–२ टिमुरे भन्सार नाका क्षेत्रमा भोटेकोशी नदीको बाढीले प्रमिलासहित उनको परिवारका सदस्यहरूलाई बगाएको थियो । घटनालगत्तै जनप्रतिनिधि, आफन्त र सुरक्षा निकायले बाढीग्रस्त क्षेत्रमा खोजी गरे पनि उनीहरूको अवस्था पत्ता लाग्न सकेन ।
शनिबार गैरागाउँका स्थानीयको उपस्थितिमा पुरेतले धार्मिक विधिअनुसार प्रमिलाको कुसको पुतला बनाएर अन्तिम यात्रा गराएका थिए । प्रमिलाका १३ वर्षीय जेठा छोरा सुशान्त बस्नेत र ६ वर्षीय कान्छा छोरा सुदीपले कुसको पुतलालाई काँध दिएका थिए भने कान्छा छोरा सुदीपले दागबत्ती दिएका थिए ।
यो परिवारमा विपत्ति आइलागेको यो पहिलो पटक होइन। प्रमिलाका श्रीमान् गोबिन्द बस्नेतको यसअघि कोरोना महामारीका क्रममा मृत्यु भइसकेको थियो । म्यानपावर व्यवसायी रहेका गोबिन्दले टिमुरे क्षेत्रमा जग्गा जोडेर नेपाल(चीन भन्सार नाकामा सामान ओसारपसारको काम र्दै आएका थिए ।
श्रीमान्को मृत्युपछि प्रमिलाले टिमुरेमा व्यवसाय सम्हाल्दै आएकी थिइन् र सहयोगका लागि आफ्ना माइती पक्षका दाजु रिमबहादुरको परिवारलाई पनि रसुवा लगेकी थिइन् । तर, एउटै बाढीले परिवारका पाँचै जनालाई बेपत्ता बनाइदियो ।
पहिले बुबा र अहिले आमा गुमाएपछि प्रमिलाका दुवै छोराहरू पूर्ण रूपमा अभिभावकविहीन बनेका छन् । दाङको तुलसीपुरस्थित तुलसी बोर्डिङ स्कुलमा अध्ययनरत यी बालकहरू हाल तुलसीपुरमा आन्टीसँग बस्दै आएका छन् ।



लाइभदाङ । २० भाद्र २०८३, शनिबार २१:३३ बजे