वडामा डेढ किलोमिटर बढि सडक कालोपत्रे 

तुलसीपुर, १३ साउन ।
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. १२ मा डेढ किलोमिटर भन्दा बढि सडक कालोपत्रे भएको छ । आर्थिक वर्ष २०८१/०८२ मा विभिन्न चारवटा सडकमा डेढ किलोमिटर भन्दा बढि सडक कालोपत्रे भएको हो ।

तुलसीपुर १२ को दामोदर सडकदेखि लामीडाँडा सडक ९ सय मिटर कालोपत्रे भएको छ, भने हरीपौरी सडक तीन सय मिटर, क्वाङी पढ्ढा सडक  २ सय ६० मिटर, टरिगाउँको चौधरी गाउँको सडक २ सय ८० मिटर सडक कालोपत्रे भएको छ । ती चारवटा सडकबाट एक किलोमिटर ७ सय ४० मिटर सडक कालोपत्रे भएको वडाध्यक्ष खुसीराम चौधरीले बताए ।

सडक कालोपत्रे भएपछि स्थानीय पनि खुसी छन् । तुलसीपुर १२ लामीडाँडा निवासी नन्दकुमार पुनले सडक कालोपत्रे भएपछि खुसी भएको बताए । “पहिले धुलाम्मे हुन्थ्यो”,उनले भने “अहिले सडक कालोपत्रे भएपछि खुसी छौं ।”

केही सडक कालोपत्रे गर्ने तयारी अवस्थामा छन् । कचिला बाबुराम चौधरीको घरदेखि विरजंग चौधरीको घरसम्म कालोपत्रे गर्ने कार्य अन्तिम चरणमा पुगेको छ । जहाँ ३ सय मिटर सडक कालोपत्रे गर्ने तयारी छ ।


पुराना सडक स्तरवृद्धिसंगै नयाँ ट्रयाक खोल्ने कार्य पनि भएको छ । विशेष गरि कृषि क्षेत्रलाई प्राथमिकता दिएर कृषि सडकका नयाँ टूयाक खोलिएको हो । जसमध्ये गरगरुवा–बाह्र विघा कृषि सडकको एक किलोमिटर ट्रयाक, कचेली–कचिला पुनडवरा कृषि सडकमा ८ सय मिटर ट्रयाक,चिम्टहवा कृषि सडकमा ३ सय मिटर सडक ट्रयाक खोलिएको छ ।

वडाले सडक मात्रै होईन्, सिंचाई कुलो निर्माण गर्न तर्फ पनि उत्तिकै चासो दिएको छ । वडा भित्र विभिन्न निकायको सहयोगमा ८ वटा सिंचाई कुलोलार्य पक्की बनाएको छ । क्वाङी पन फकुवा नहर दुई वटा, आँखा फुटी–क्वाङी कुलो, बहिलवा सिंचाई कुलो निर्माण, जसपुरे–उरहरी कुलो, कचिला सिंचाई कुलो डबरा, टरिगै–रझेनी–बृद्धाश्रम हुँदै क्वाङी नहर निर्माण भएको छ । साभारः अग्रिम साप्ताहिक