सगरमाथा स्कुलद्वारा बाढी प्रभावितलाई ५० हजारभन्दा बढी सहयोग

तुलसीपुर, १७ भदौ ।
दाङको तुलसीपुर–९ बेलुवास्थित सगरमाथा स्कुलले बाढी प्रभावित परिवारहरूको राहतका लागि ५० हजार रुपैयाँभन्दा बढी आर्थिक सहयोग गरेको छ । रसुवामा आएको भीषण बाढीका कारण ठूलो जनधनको क्षति हुनुका साथै धेरै परिवारहरू प्रभावित भएको भन्दै उक्त रकम सहयोग गरिएको प्रिन्सिपल छविकुमार वलीले बताए । बाढी प्रभावितहरूलाई राहत र सहयोगको तत्काल आवश्यकता परिरहेका बेला विद्यालयले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत यो आर्थिक सहयोग प्रदान गरेको हो ।

विपद्को यस कठिन समयमा प्रभावित परिवारहरूलाई आफ्नो तर्फबाट सक्दो सहयोग र्पुयाउने उद्देश्यले विद्यालयले उक्त रकम प्रदान गरेको प्रिन्सिपल वलीको भनाई छ । विद्यालयले उक्त सहयोग रकम नेपाल सरकारको प्रधानमन्त्री दैवी राहत कोषमा जम्मा गरेको छ ।


प्रधानाध्यापक वलीले विद्यालयले आफ्ना विद्यार्थी, शिक्षक तथा अभिभावकहरूलाई समेत यस्ता विपद्का बेला मानवीय सहयोग र सामाजिक सेवामा सहभागी हुन निरन्तर प्रेरित गर्दै आएको बताए ।