
तुलसीपुर, १५ भदौ ।
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने घोषणा गरेका छन् । अर्जेन्टिनालाई फिफा विश्वकप र दुई कोपा अमेरिका उपाधि दिलाएका ३९ वर्षीय मेसीले आफ्नो राष्ट्रिय टोलीसँगको यात्रा समाप्त भएको बताएका हुन् ।
करिब दुई दशक लामो अन्तर्राष्ट्रिय करियरमा मेसी अर्जेन्टिनाका सर्वाधिक खेल खेल्ने र सर्वाधिक गोल गर्ने खेलाडी बने । उनले राष्ट्रिय टोलीबाट २१० खेलमा १२५ गोल गर्दै अर्जेन्टिनालाई सन् २०२२ को फिफा विश्वकप, २०२१ र २०२४ को कोपा अमेरिका तथा फिनालिसिमा उपाधि दिलाएका थिए ।
आठ पटकका बालोन डी’ओर विजेता मेसीले अर्जेन्टिनाबाट आफ्नो अन्तिम अन्तर्राष्ट्रिय खेल खेलेसँगै विश्व फुटबलको एउटा ऐतिहासिक अध्याय समाप्त भएको छ । उनी अहिले अमेरिकन क्लब इन्टर मियामीबाट क्लब फुटबल खेलिरहेका छन् ।
मेसीको सन्याससँगै अर्जेन्टिनाले आफ्नो स्वर्णिम पुस्ताका अन्तिम महान् कप्तानलाई बिदाइ गरेको छ ।
सामाजिक सञ्जालमा लामो सन्देश लेख्दै मेसीले यो निर्णय आफ्नो आत्माका लागि सबैभन्दा पीडादायी भए पनि यही सही समय भएको उल्लेख गरेका छन् ।
‘फाइनलपछि धेरै समय सोचें, अब राष्ट्रिय टोलीबाट सन्यास लिने निर्णय गरेको छु। यो निर्णयले मेरो मन दुखाएको छ र अझै पनि दुखाइरहेको छ, तर म बुझ्छु—यही समय हो’ उनले लेखेका छन् ।
मेसीले आफूले अर्जेन्टिनाको जर्सीका लागि सधैं आफ्नो सम्पूर्ण शक्ति दिएको र समर्थकलाई गर्व गराउने प्रयास कहिल्यै नछोडेको बताएका छन् ।
‘मैले सधैं सबैथोक दिएँ । पछिल्ला सफल वर्षहरूमा मात्र होइन, सुरुदेखि नै यो जर्सीका लागि लडें । अब मसँग दिन बाँकी केही छैन । नयाँ पुस्ताका उत्कृष्ट खेलाडीहरू आउँदैछन्, उनीहरू नै यो स्थानका हकदार हुन्’ उनले थपे ।
२० वर्ष लामो अन्तर्राष्ट्रिय यात्रालाई सम्झँदै मेसीले राष्ट्रिय टोलीप्रतिको आफ्नो प्रेम कहिल्यै समाप्त नहुने बताए ।
‘म राष्ट्रिय टोलीलाई माया गर्थें, गर्छु र सधैं गर्नेछु। अब म मैदानभित्र होइन, बाहिरबाट तपाईंहरूसँगै अर्जेन्टिनालाई समर्थन गर्नेछु।’
उनले आफ्नो परिवार, प्रशिक्षक, टोलीका सहकर्मी र सम्पूर्ण समर्थकप्रति आभार व्यक्त गर्दै विश्वकप जितेको क्षणलाई जीवनकै सबैभन्दा अविस्मरणीय सम्झना बताएका छन्।
सन्देशको अन्त्यमा मेसीले लेखेका छन्— ‘भगवान, मलाई अर्जेन्टिनी बनाइदिनुभएकोमा धन्यवाद । अर्जेन्टिना, सधैं अगाडि बढ ।’



लाइभदाङ । १५ भाद्र २०८३, सोमबार २१:३९ बजे