रसुवा बाढीपीडितलाई गढवा गाउँपालिकाको ५ लाख सहयोग

आलोक भावुक
गढवा, १५ भदौ ।
रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको राहत तथा उद्धारमा सहयोग पुर्‍याउन दाङको गढवा गाउँपालिकाले ५ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको छ। सोमबार बसेको गढवा गाउँपालिका स्तरीय विपद् व्यवस्थापन समितिको बैठकले रसुवा बाढीबाट प्रभावित परिवारका लागि उक्त रकम सहयोग गर्ने निर्णय गरेको हो। गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको अध्यक्षतामा बसेको बैठकले विपद्को यस कठिन घडीमा पीडित परिवारलाई राहत उपलब्ध गराउने उद्देश्यले आर्थिक सहयोग गर्ने निर्णय गरेको जनाइएको छ।

बाढीका कारण रसुवामा ठूलो जनधनको क्षति भएको र प्रभावित परिवारको अवस्था अत्यन्तै पीडादायी रहेको भन्दै गढवा गाउँपालिकाले विपद्मा परेका परिवारप्रति सहानुभूति व्यक्त गर्दै राहत तथा उद्धार कार्यमा स्थानीय तहको तर्फबाट सहयोग गर्ने निर्णय गरेको हो।

बैठकले रसुवाको बाढीमा परी गढवा गाउँपालिकासँग सम्बन्धित तीन जना सम्पर्कविहीन रहेको विषयलाई समेत गम्भीरतापूर्वक लिँदै उनीहरूका परिवारलाई आर्थिक तथा जिन्सी सहयोग गर्ने निर्णय गरेको छ। साथै सम्पर्कविहीन व्यक्तिहरूको अवस्था बुझ्न, खोजी तथा उद्धार र पहिचानका लागि गाउँपालिकाको तर्फबाट एक टोली घटनास्थलतर्फ पठाउने निर्णय समेत गरेको छ।


विपद् व्यवस्थापन समितिले बाढीका कारण आफन्त गुमाएका तथा सम्पर्कविहीन परिवारप्रति दुःख व्यक्त गर्दै खोजी, उद्धार र राहत कार्यलाई प्रभावकारी बनाउन सम्बन्धित निकायसँग आवश्यक समन्वय गर्ने जनाएको छ।

गाउँपालिकाले विपद्को समयमा मानवीय सहयोग, स्थानीय तहबीचको सहकार्य र एकता महत्वपूर्ण हुने भन्दै पीडितको उद्धार तथा राहतका लागि सबै पक्षलाई सहयोग र समन्वय गर्न आग्रह गरेको छ।