दुई सय बढि आँखा शल्यक्रिया

सालीकराम गौतम
घोराही ८ मङ्सिर ।
नेपाल नेत्रज्योति संघ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगन्ज अन्तर्गत सञ्चालित आँखा अस्पतालले विभिन्न स्थानमा आँखा शिविर आँखा जाँच गरिरहेको छ ।

दृष्टिविहिनता न्यूनीकरणका लागि विभिन्न स्थापनमा निःशुल्क आँखा जाँच, आँखाको शल्यक्रिया शिविर सञ्चालन गरिरहेको जनाएको छ । राप्ती आँखा अस्पताल, लमही आँखा अस्पताल र छन्द कालेबाबु नारायणी आँखा अस्पताल बहादुरगन्ज कपिलवस्तुले विभिन्न पालिकाको सहकार्य तथा दातृ निकाय एनएबिपी नर्वे र अन्य सहयोगी संस्थाको सहयोगमा आँखा शिविर तथा आँखा जाँच कार्यक्रम सञ्चालन गरेको आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगन्जका प्रमुख प्रशासक डा. सम्शेर थापाले जानकारी दिए ।

उपमहानगरपालिका, नगरपालिका, गाउँपालिकाका विभिन्न वडामा अहिले दैनिक आँखा जाँच कार्यक्रम सञ्चालन भइरहेको छ भने विभिन्न स्थानमा निःशुल्क शल्यक्रिया शिविर सञ्चालन भइरहेका छन् । तुलसीपुर उपमहानगरपालिका, घोराही उपमहानगरपालिका, लमही नगरपालिका र जिल्लाका अन्य गाउँपालिका र कपिलवस्तुका विभिन्न पालिकालगायत अन्य दुर्गम क्षेत्रमा समेत आँखा जाँच र निःशुल्क आँखा शिविर सञ्चालन भइरहेको आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगन्जका सूचना अधिकारी बालाराम खड्काले जानकारी दिए ।


यसैबिच नेपाल नेत्रज्योति संघ, लमही आँखा अस्पतालको प्राविधिक तथा एनएबिपी नर्वे आर्थिक सहयोगमा सुलीचौर सर्जिकल आँखा केन्द्रमा निःशुल्क तथा सशुल्क आँखा शल्यक्रिया शिविर सम्पन्न भएको छ । दुई दिनसम्म सञ्चालन भएको शिविरमा एक सय पाँच जना बिरामीको शल्यक्रिया भएको थियो । अत्याधुनिक फेको प्रविधिद्वारा ७५ जना र एसआइसिएस प्रविधिबाट २९ जना मोतिविन्दुका बिरामी र एक जना आँखामा मासु पलाएको शल्यक्रिया गरिएको नेत्र सहायक अमृत नेपालले जानकारी दिए ।

प्राडा प्रदीप बास्तोलाको नेतृत्वमा गएको टोलीले सेवा दिएको थियो । छन्द (कालेबाबु) नारायणी आँखा अस्पताल बहादुरगन्जको प्राविधिक सहयोग, एनएबिपी नर्वेको आर्थिक सहयोग र मायादेवी गाउँपालिकाको आयोजनामा वडा नं.६ गौतम बुद्ध प्राथमिक विद्यालय डुमरामा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ । बरिष्ठ नेत्र विशेषज्ञ डा.सुलक्ष्मी कटुवालको नेतृत्वमा गएको प्राविधिक टोलीले शिविरमा चार सय ९५ जनाको आँखा जाँच गरिएको थियो भने एक सय ३८ जना मोतिविन्दुका बिरामीको शल्यक्रिया गरिएको छ । शिविरमा दुई सय २० जनालाई नजिकको दृष्टि सुधारका लागि चस्मा वितरण गरियो ।

यसैगरी मङ्सिर १० देखि ११ गतेसम्म सल्यानको बागचौर नगरपालिका र मङ्सिर १३ र १४ गते सल्यानको श्रीनगरमा एनएबिपी नर्वेको आर्थिक सहयोगमा निःशुल्क आँखा शिविर हुने राप्ती आँखा अस्पतालले जनाएको छ । हाल सो स्थानमा दैनिक आँखा जाँच भइरहेको छ ।