
पोष्टराज अधिकारी
मकवानपुर, १३ भदौ ।
भोटेकोशीमा आएको विनाशकारी बाढीपछि चितवनस्थित नारायणी नदी किनारमा फेला परेका पहिचान हुन नसकेका शवहरू जमिनमुनि व्यवस्थापन गर्न सुरु गरिएको छ । संक्रमण तथा महामारी फैलिने जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालय चितवनले डीएनए नमुना संकलन गरी शवहरू सम्मानजनक रूपमा गाड्ने प्रक्रिया अघि बढाएको जनाएको छ ।
जिल्ला प्रशासन कार्यालयका अनुसार भरतपुर महानगरपालिका–१ रामनगर–देवघाट सडक खण्ड नजिकैको जंगल क्षेत्रमा शव व्यवस्थापन सुरु गरिएको हो । प्रत्येक शवको डीएनए नमुना संकलन गरी छुट्टाछुट्टै संकेत नम्बर ९ट्याग० राखेर भविष्यमा पहिचान गर्न सकिने गरी अभिलेख सुरक्षित बनाइएको प्रशासनले जनाएको छ ।
चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार सडेगलेको अवस्थामा रहेका शवबाट संक्रमण तथा महामारी फैलिन सक्ने उच्च जोखिम देखिएपछि यो निर्णय गरिएको हो । उनका अनुसार पहिचान हुन सक्ने सबै सम्भावना सुरक्षित राख्न डीएनए नमुना संकलन गरिएको छ भने त्यसपछि मात्रै शवहरू जमिनमुनि व्यवस्थापन गर्न थालिएको हो ।
शव व्यवस्थापनका लागि सुरक्षाकर्मीको निगरानीमा दुई वटा डोजर प्रयोग गरी जंगलको बीच भागमा ठूलो खाल्डो तयार पारिएको छ । कानुनी प्रक्रिया पूरा गर्दै स्वास्थ्य सुरक्षाका मापदण्डअनुसार शव गाड्ने काम भइरहेको प्रशासनले जनाएको छ।
बाढीपछि चितवनमा हालसम्म नारायणी नदी तथा आसपासका क्षेत्रबाट २ सय ३३ वटा शव संकलन गरिएको छ । तीमध्ये हालसम्म ६ वटा शवको मात्रै पहिचान भएको छ भने बाँकी २२७ वटा शव अझै अज्ञात छन्।
प्रशासनले पहिचान हुन बाँकी शवको अभिलेख सुरक्षित राखिएकाले भविष्यमा आफन्तले खोजी गर्दा डीएनए परीक्षणमार्फत पहिचान गर्न सकिने जनाएको छ। बाढीबाट बेपत्ता भएका व्यक्तिका आफन्तलाई आवश्यक विवरण उपलब्ध गराउन तथा सम्बन्धित निकायसँग समन्वय गर्न पनि प्रशासनले आग्रह गरेको छ।



लाइभदाङ । १४ भाद्र २०८३, आईतवार १०:०२ बजे