राप्तीमा आन्तरिक राजस्व सुदृढीकरणसम्बन्धी अनुशिक्षण कार्यशाला सम्पन्न

तुल बहादुर कवँर मगर
मसुरिया, ११ भदौ ।
दाङको राप्ती गाउँपालिकामा आन्तरिक राजस्व सुदृढीकरणसम्बन्धी अनुशिक्षण कार्यशाला बिहीबार सम्पन्न भएको छ।

गाउँपालिकाको आन्तरिक राजस्वको अवस्था पहिचान, राजस्व प्रशासनलाई प्रभावकारी बनाउने तथा आगामी कार्ययोजना तयार गर्ने उद्देश्यले कार्यशाला आयोजना गरिएको हो।

राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्टको अध्यक्षतामा सम्पन्न कार्यशालामा नीति तथा कानुनी व्यवस्था, कार्यक्रम तथा बजेट, कर तथा गैरकर राजस्वको अवस्था, सम्भावित राजस्व स्रोत, करको दर तथा मूल्याङ्कन प्रणालीलगायतका विषयमा छलफल गरिएको थियो।

कार्यक्रममा बोल्दै अध्यक्ष विष्टले गाउँपालिकाको विकास र सेवा प्रवाहलाई प्रभावकारी बनाउन आन्तरिक राजस्वको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो। उहाँले पालिकाभित्र रहेका राजस्वका सम्भावित स्रोतको पहिचान गरी करको दायरा विस्तार गर्नुपर्नेमा जोड दिनुभयो।

अध्यक्ष विष्टले नागरिकमा करसम्बन्धी शिक्षा अभिवृद्धि गर्नुपर्ने, नागरिकले तिरेको करको रकम पारदर्शी रूपमा कहाँ र कसरी प्रयोग भइरहेको छ भन्ने जानकारी दिनुपर्ने तथा कर तिर्न नागरिकलाई प्रोत्साहित गर्नुपर्ने बताउनुभयो।

दीर्घकालीन रूपमा राजस्व संकलनलाई बलियो बनाउन डिजिटल प्रणालीबाट कर तिर्ने व्यवस्था, सूचना प्रविधिको अधिकतम प्रयोग तथा राजस्व संकलन प्रक्रियालाई व्यवस्थित र पारदर्शी बनाउनुपर्ने उहाँको भनाइ थियो।


कार्यशालामा मणिराम सिंह महतले स्थानीय तहमा राजस्वका सम्भावित क्षेत्र पहिचान, करदाता लगत व्यवस्थापन, कर तथा गैरकरका दर र मूल्याङ्कन प्रणाली, बिलिङ, कर संकलन तथा रिपोर्टिङ प्रणाली, डिजिटल राजस्व व्यवस्थापन र सूचना प्रणालीको प्रभावकारी प्रयोगका विषयमा जानकारी गराउनुभएको थियो।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देविराम पाठकले राजस्वसँग सम्बन्धित कानुनी तथा नीतिगत व्यवस्थालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न आवश्यक रहेको बताउनुभयो। उहाँले राजस्वसम्बन्धी कार्यविधि निर्माण, प्रणालीगत सुधार तथा एकीकृत रूपमा राजस्व प्रशासन सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो। राजस्व संकलनमा देखिएका केही प्रणालीगत समस्याको समाधान गर्दै पालिकाको आन्तरिक स्रोतलाई थप मजबुत बनाउनुपर्ने उहाँको भनाइ थियो।

कार्यक्रममा गाउँ कार्यपालिका सदस्यहरू,लुम्बिनी प्रदेश सरकारअन्तर्गत प्रदेश तथा स्थानीय शासन सबलीकरण कार्यक्रमका ओएसआर प्रदेश संयोजक लोकबहादुर थापा, सुशासन विश्लेषक विष्णु विक तथा सूचना प्रविधि विज्ञ निरज दाहाल,विभिन्न शाखाका प्रमुख, वडा सचिव तथा कर्मचारीहरूको सहभागिता रहेको थियो।

लुम्बिनी प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत प्रदेश तथा स्थानीय शासन सबलीकरण कार्यक्रमको प्राविधिक सहयोगमा आयोजित कार्यशालाको सहजीकरण स्कोलर नेपाल प्रा।लि।ले गरेको हो।

कार्यशालाले गाउँपालिकाका आन्तरिक राजस्वका स्रोत पहिचान, राजस्व प्रशासन सुधार तथा आगामी दिनमा राजस्व संकलनलाई थप व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउन महत्वपूर्ण सहयोग पुग्ने अपेक्षा गरिएको छ।