
दाङ, ८ भदौ ।
अखिल नेपाल महिला संगठन लुम्बिनी प्रदेशको एकता भेला आइतबार दाङको भालुबाङमा सम्पन्न भएको छ।
विभिन्न वाम घटकबीचको एकतापछि गठन भएको नेपाली कम्युनिस्ट पार्टी (नेकपा) निकट अखिल नेपाल महिला संगठनको प्रदेशस्तरीय एकता भेलाले पुनम शेर्पालीलाई संयोजकमा चयन गरेको छ।
भेलाले सस्मति चौधरी र खुमा कुमारी बुढालाई सह–संयोजक चयन गर्दै १ सय ७५ सदस्यीय अखिल नेपाल महिला संगठन लुम्बिनी प्रदेश कमिटी गठन गरेको हो।
भेलामा संगठनकी केन्द्रीय समितिकी सहइन्चार्ज विमला सुवेदी, सह–संयोजक मनु सिग्देल, केन्द्रीय संयोजक दामा शर्मा, संगठन विभाग प्रमुख रेनु दाहाल, नेपाली कम्युनिष्ट पार्टी लुम्बिनी प्रदेश संयोजक अवदुल हुसेन र सहसंयोजक प्रकाश अधिकारीलगायतको सहभागिता थियो।
कार्यक्रममा बोल्दै नेताहरूले वाम घटकहरूबीचको एकताले महिला संगठनलाई थप सुदृढ र व्यवस्थित बनाउने अवसर सिर्जना गरेको भन्दै अब संगठनलाई प्रदेशका सबै जिल्लासम्म विस्तार गर्नुपर्नेमा जोड दिनुभयो।
उहाँहरूले महिलाका राजनीतिक, सामाजिक तथा आर्थिक अधिकारका सवाललाई प्राथमिकताका साथ उठाउँदै महिलाको नेतृत्व क्षमता विकास र राजनीतिक सहभागिता बढाउनुपर्ने धारणा राख्नुभयो।
महिला हिंसा, विभेद तथा सामाजिक असमानताविरुद्ध संगठित रूपमा आवाज उठाउँदै महिलालाई अधिकारसँगै नेतृत्वमा स्थापित गर्ने गरी संगठनले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने उहाँहरूको भनाइ थियो।
नवगठित प्रदेश कमिटीले लुम्बिनी प्रदेशका सबै जिल्लामा संगठन विस्तार गर्दै महिलाको सहभागिता र नेतृत्व विकासलाई प्राथमिकतामा राखेर काम गर्ने जनाएको छ। साथै संगठनलाई जनतासँग जोड्दै महिलाका दैनिक जीवनसँग प्रत्यक्ष सम्बन्धित सवाललाई राजनीतिक तथा सामाजिक आन्दोलनसँग जोडेर अघि बढाउने प्रतिबद्धता जनाएको छ।
एकता भेलामा लुम्बिनी प्रदेशका विभिन्न जिल्लाबाट महिला नेतृ तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो।



लाइभदाङ । ८ भाद्र २०८३, सोमबार ०७:३१ बजे