सर्वोच्च बारको चुनाव आउँदो २३ गते हुने

काठमाडौं, १९ पुष ।
सर्वोच्च बार एसोसिएशनको ३४ औँ नयाँ कार्यसमिति चयनका लागि आउँदो २३ गते चुनाव हुने भएको छ । नयाँ कार्यसमिति चयनका लागि हुन लागेको चुनावमा सत्ता र विपक्षी दलनिकट कानुन व्यवसायीबीच समूहगत रूपमा प्रतिस्पर्धा हुने भएको छ ।

दुई समूहको आ–आफ्नो समूह प्यानलसहित मनोनयन दर्ता भइसकेको छ । चुनावमा बृहत् लोकतान्त्रिक र प्रगतिशील, पेसागत तथा गणतान्त्रिक समूह बनाएर चुनावी मैदानमा उत्रिएका छन् । लोकतान्त्रिक समूहबाट अध्यक्षमा वरिष्ठ अधिवक्ता हरिशङ्कर निरौलाले उम्मेदवारी दिनुभएको छ भने प्रगतिशीलबाट वरिष्ठ अधिवक्ता तुलसी भट्टले अध्यक्षमा उम्मेदवारी दिनुभएको छ ।


यस्तै एक उपाध्यक्षमा लोकतान्त्रिकबाट जगदीशप्रसाद पाण्डे र प्रगतिशीलबाट रामकृष्ण काफ्ले रहनुभएको छ । सचिवमा लोकतान्त्रिकबाट कल्याण पोखरेल र प्रगतिशीलबाट श्यामकुमार खत्री प्रतिस्पर्धामा हुनुहुन्छ । सहसचिवमा लोकतान्त्रिकबाट सुजन लोप्चन र प्रगतिशीलबाट सङ्गीना शाक्य उम्मेदवार हुनुहुन्छ ।

एक कोषाध्यक्ष पदका लागि लोकतान्त्रिकबाट रामचन्द्र पौडेल र प्रगतिशीलबाट कपिलचन्द्र पोखरेल प्रतिस्पर्धामा हुनुहुन्छ । एक महिला सदस्यका लागि लोकतान्त्रिकबाट कमला रोका गिरी र प्रगतिशीलबाट सिर्जना कँडेल हुनुहुन्छ । सर्वोच्च बारमा छ सय २१ जना मतदाता रहेका छन । सर्वोच्च बारमा दुई वर्षको कार्यकाल रहने व्यवस्था रहेको छ ।