दाङमा ट्याक्टरसँग अटो ठोक्किँदा चालकको मृत्यु, दुई जना घाइते

दाङ, ४ भदौ ।
दाङको घोराही उपमहानगरपालिका–७ बेसाहीमा ट्याक्टर र अटो एकआपसमा ठोक्किँदा अटो चालकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

बुधबार राति करिब ८ बजे सौडियारबाट सर्रातर्फ आउँदै गरेको रा १ त ३७०९ नम्बरको लोड ट्याक्टर र घोराहीबाट बसन्तपुरतर्फ जाँदै गरेको लु.प्र. ०२–००१ ह १९२९ नम्बरको अटो एकआपसमा ठोक्किएका थिए।

दुर्घटनामा अटोमा सवार तीन जना घाइते भएका थिए। घाइतेमध्ये घोराही उपमहानगरपालिका–५ बसन्तपुर निवासी ४५ वर्षीय अटो चालक विनोद पौडेलको उपचारका क्रममा बिहीबार बिहान करिब २ः४५ बजे मेडिकल कलेज कोहलपुर, बाँकेमा मृत्यु भएको प्रहरीले जनाएको छ।


दुर्घटनामा घाइते अन्य दुई जनाको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।

घटनापछि प्रहरीले ट्याक्टर र चालक घोराही उपमहानगरपालिका–१७ भैसाही निवासी २३ वर्षीय हिमाल चौधरीलाई नियन्त्रणमा लिएको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।