राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले सार्वजनिक बिदा र अतिरिक्त समयमा पनि सबै सेवा दिने

दाङ, ०९ मंसिर ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले सार्वजनिक बिदाका दिन र कार्यालय समयबाहेकको अतिरिक्त समयमा समेत अस्पतालका सबै सेवा प्रवाह गर्ने निर्णय गरेको छ।

प्रतिष्ठानले पारित गरेको ‘विशिष्टीकृत तथा विशेषज्ञ स्वास्थ्य सेवा (सुपररसब स्पेसियालिटी सर्भिस), सशुल्क सामान्य स्वास्थ्य परीक्षण प्याकेज (जनरल हेल्थ चेक-अप प्याकेज) र विस्तारित स्वास्थ्य सेवा सञ्चालन (ईएचएस) कार्यविधि, २०८३’ अनुसार सेवा सुरु गर्न लागिएको प्रतिष्ठानका उपकुलपति प्राडा अजय मिश्रले जानकारी दिनुभयो ।

प्रतिष्ठानका रजिस्ट्रार प्रा. श्याम लम्सालले जारी गरेको सूचनाअनुसार स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालयको नीति कार्यान्वयन, भौगोलिक विशिष्टताका कारण सर्वसाधारणको स्वास्थ्य सेवाको आवश्यकता र अधिकार, प्रतिष्ठानलाई आत्मनिर्भर बनाउने योजना तथा कार्यरत चिकित्सक, नर्स, प्राविधिक र प्रशासनिक कर्मचारीको हितलाई ध्यानमा राखी कार्यकारी परिषद्को २०८३ असोज ७ गतेको बैठकले यस्तो निर्णय गरेको हो।


निर्णयअनुसार शनिबार, आइतबार र अन्य घोषित सार्वजनिक बिदाका दिन बिहान ८:०० बजेदेखि तथा कार्यालय सञ्चालन हुने दिनमा अतिरिक्त समयअन्तर्गत बिहान ७:०० बजेदेखि ९:०० बजेसम्म र बेलुका ४:०० बजेदेखि ९:०० बजेसम्म विस्तारित स्वास्थ्य सेवामार्फत सेवा दिइनेछ। उक्त अवधिमा विशेषज्ञ ओपीडी, प्रयोगशाला, शल्यक्रिया र सामान्य स्वास्थ्य परीक्षणलगायतका सेवा उपलब्ध हुने प्रतिष्ठानले जनाएको छ।

प्रतिष्ठानको यो निर्णयबाट दाङसहित रोल्पा, रुकुम, सल्यान र प्यूठानलगायतका जिल्लाका सर्वसाधारणलाई स्वास्थ्य उपचारमा सहजता र राहत पुग्ने प्रतिष्ठानका रजिष्ट्रार लम्सालले जानकारी दिनुभयो ।

प्रतिष्ठानमा कार्यरत चिकित्सक, नर्स, प्राविधिक तथा प्रशासनिक कर्मचारीको हितलाई समेत ध्यानमा राखेर विस्तारित स्वास्थ्य सेवा सञ्चालन गर्न लागिएको प्रतिष्ठानका उपकुलपति मिश्रले बताउनुभयो  विशेषगरी नियमित कार्यालय समयमा अस्पताल पुग्न नसक्ने तथा सार्वजनिक बिदाका दिन उपचार आवश्यक पर्ने बिरामीलाई यसबाट राहत पुग्ने विश्वास गरिएको उहाले बताउनु भयो ।