
दाङ, ०९ मंसिर ।
दाङमा प्रहरीले बिलबिजक नभएका इलेक्ट्रोनिक तथा कस्मेटिक सामान बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय दाङका अनुसार घोराही उपमहानगरपालिका–१५ कोठकोहलस्थित सडक छेउमा बेवारिसे अवस्थामा रहेका इलेक्ट्रोनिक सामान तथा गढवा गाउँपालिका–८ मुसीधरस्थित इलाका प्रहरी कार्यालय कोइलाबासबाट खटिएको चेकिङ टोलीले बरामद गरेका कस्मेटिक सामान गरी कुल ४ लाख ८४ हजार ५२० रुपैयाँ बराबरका सामान बरामद गरेको हो।
हिजो घोराही उपमहानगरपालिका–१५ कोठकोहलस्थित सडक छेउमा बेवारिसे अवस्थामा सामान १ लाख ८२ हजार रुपैयाँ इलेक्ट्रोनिक सामान र गढवा गाउँपालिका–८ मुसीधर स्थित इलाका प्रहरी कार्यालय कोइलाबासबाट करिब ३ लाख ३ हजार ५२० रुपैयाँ बराबरका कस्मेटिक सामान बरामद गरेको प्रहरीले जनाएको छ।
बरामद सामानमा इलेक्ट्रोनिक सामग्रीअन्तर्गत डीसी बिलबोर्ड, पारस रेडियो, आरोगा रेडियो, डीसी कन्वर्टर, पावर कन्वर्टर, स्मार्ट घडी, मोबाइल पिन, फ्ल्याङ्ज र बुस रहेका छन् । यस्तै,कस्मेटिक सामग्रीतर्फ राइस डेवी ब्राइट सनस्क्रिन क्रिम, मामाअर्थ राइस वाटर क्रिम, टिन्टेड सनस्क्रिन क्रिम, फेसवास क्रिम र मोडल फेसवास क्रिम रहेका छन्। प्रहरीले बरामद गरेका उक्त सामान आवश्यक कारबाहीका लागि भन्सार कार्यालय पठाएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।



लाइभदाङ । १० मंसिर २०८३, बुधबार १९:५२ बजे