
तुलसीपुर, २ भदौ । मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर ६ जुरीखेतमा दुर्घटना भएको स्करपियोका चारजना घाइतेलाई उपचारका लागि नेपाली सेनाको हेलिकोप्टरबाट काठमाडौं लगिएको छ । दुर्घटनामा मुख्य न्यायाधीश गोकर्ण डाँगी, उच्च अदालत वीरगञ्जका रजिष्ट्रार तारादत्त बडु, चालक छुनिलाल चौधरी, रजिष्ट्रारकी श्रीमती लक्ष्मी बडु, छोरा रितेन्द्र बडु र दिदी रिता बडु घाइते भएका छन् ।
घाइते मध्ये मुख्य न्यायाधीश डाँगी, रजिस्ट्रार तारादत्त बडुकि श्रीमती लक्ष्मी, छोरा रितेन्द्र र दिदी रितालाई उपचारका लागि काठमाडौंस्थित छाउनी अस्पताल लगिएको हो । यस्तै रजिस्ट्रार तारादत्त बकी र स्कर्पियो चालक छुनिलाल चौधरीलाई हेटौंडा ल्याइएको छ ।
उच्च अदालत वीरगञ्जका मुख्य न्यायाधीश गोकर्ण डाँगी सवार प्रदेश ३–०१–००२ झ ५१८३ नम्बरको स्कारपियो काठमाडौंबाट वीरगञ्जतर्फ आउने क्रममा आज बिहान् करिब ७ बजे मकवानपुरको भीमफेदी गाउँपालिका–६ जुरीखेतमा दुर्घटना भएको थियो ।
प्रहरीका अनुसार लक्ष्मी बडुको टाउको तथा शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको छ । मुख्य न्यायाधीश डाँगी, चालक चौधरी, रजिष्ट्रार बडु, रितेन्द्र बडु र रिता बडुको अवस्था मध्यम रहेको छ ।
दुर्घटनापछि इलाका प्रहरी कार्यालय भीमफेदीबाट ट्राफिक प्रहरीसहितको टोलीले उद्धार गरी सबै घाइतेलाई भीमफेदी अस्पताल र्पुयाएको थियो ।



लाइभदाङ । २ भाद्र २०८३, मंगलवार १०:२२ बजे