जातिय विभेद पनि पुस्तान्तरण !

तुलसीपुर, ३ चैत । जातिय विभेद पनि पुस्तान्तरण भएको एक कार्यक्रमका बक्ताहरुले बताएका छन् । छुवाछूतमुक्त राष्ट्र घोषणा भएपनि दलित भएका कारण छुवाछुतका घट्ना कायमै रहेको दलित महिला संघ दाङका अध्यक्ष युवा कराराले बताईन् । संविधानले अपराधको रूपमा लिएपनि जातीय विभेद कायम रहनु दुखद भएको उनको भनाइ छ ।

सञ्चारमाध्यममा दलित समुदायका सवाल सम्बन्धमा शनिबार तुलसीपुरमा आयोजित कार्यक्रममा कराराले जातिय छुवाछुतले मानव विकासमा अवरोध भएको बताईन् । उनले विभेदरहित समाज निर्माणका लागि जातीय मुद्दा साझा बन्नुपर्ने बताइन् । उनले दलित भएकै कारण सार्वजनिक धारा,कुवाको पानी प्रयोग गर्न नपाएको बताईन् ।

यस्तै दलितहरुलाई राज्यले प्रवाह गर्ने श्रोत र साधनमा अर्थपूर्ण सहभागिताका लागि तल्लो तहबाटै प्रयास भइरहेको बताईन् । उनले विभेद अन्त्यका लागि सचेतना फैलाउन तुलसीपुर उपमहानगरपालिकामा रहेका दुई र दंगिशरण गाँउपालिकामा एक गरी तीन सामुदायीक विद्यालयमा किशोर(किशोरी संजाल गठन गरिएको बताईन् ।

दलित समुदायका आवाजलाई निरन्तर रुपमा समावेश गर्नुपर्ने दलित अधिकारकर्मी निमर्ल नेपालीले बताए । विभिन्न दिवस र सभा समारोहमा विषयवस्तु प्रसारण तथा प्रकाशन भएपनि दलित अधिकारका विषयहरुले नियमित सञ्चारमाध्यममा उचित स्थान प्राप्त गर्न नसकेको बताए । प्रविधिमैत्री आजको सञ्चार युगमा जातिय विभेदको पूर्ण रुपमा अन्त्यका लागि सञ्चारमाध्यमको महत्वपूर्ण भुमिका रहेको उनको भनाई छ ।
दाङका १० पालिकामध्य आफुहरुको जोडबलका कारण तुलसीपुर उपमहानगरपालिकाले दलित शशक्तिकरण ऐन ल्याएकोले पूर्ण रुपमा कार्यान्वयनका लागि सबैको दायित्व रहेको उनले बताए ।


दलित समुदायको उपस्थिति राज्यका विभिन्न क्षेत्रमा अर्थपूर्ण बनाउन सञ्चारमाध्यममा प्रसारण तथा प्रकाशन सामाग्रीको महत्वपूर्ण भुमिका रहेको एक कार्यक्रमका सहभागिहरुले बताएका छन् । समाज रुपान्तरणको अभ्यासमा जातिय विभेद पनि समुदायमा पुस्तान्तरण हुँदा विद्यमान कुरिति र कुसंस्कारका विरुद्ध कलम चलाउनुपर्ने पत्रकार गिरिराज नेपालीले बताउनुभयो ।

नेपाल पत्रकार महासंघ दाङका सदस्य समेत रहेका नेपालीले दलित भएकै कारण पत्रकारीता पेशामा अन्य समुदायले हेर्ने दृष्टिकोणमा भेदभाव भएको आफुलाई महशुस हुने गरेको बताए । समाजमा भएका जातिय भेदभाव विरुद्धका घट्नामा समाचार लेख्दा अग्रजहरुबाटै रोक्न दबाव आउने गरेको उनको भनाई छ ।

कार्यक्रममा पत्रकार दिपक बोहरा, एकराज भण्डारी, जितसागर जीएम,निरला अर्याल गैरेलगाएतले पत्रकारीताको माध्यमबाट समाज रुपान्तरणमा निरन्तर खबरदारी गरिरहेको बताएका थिए । संघका अध्यक्ष युवा कराराको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजिकरण सचिव गंगा विश्वकर्माले गरेकी थिइन् ।