
दाङ, ०१ भदौ ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सभाबाट विश्वासको मत प्राप्त गरेका छन् । सोमबार बसेको प्रदेश सभा बैठकमा मुख्यमन्त्री आचार्यले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा ४५ र विपक्षमा २६ मत परेको हो ।
मुख्यमन्त्री आचार्यलाई नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टी नेपालले विश्वासको मत दिएका छन् । प्रदेश सभामा कायम ८३ सदस्यमध्ये ७१ जना सांसद मतदान प्रक्रियामा सहभागी भएका थिए ।
विश्वासको मतको पक्षमा परेको ४५ मत बहुमत रहेकाले मुख्यमन्त्री आचार्यले विश्वासको मत प्राप्त गरेको घोषणा सभामुख तुलाराम घर्तीमगरले गरेका थिए ।
नेपाली कांग्रेसले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री आचार्यले संवैधानिक व्यवस्थाअनुसार प्रदेश सभाबाट विश्वासको मत लिएका हुन् ।



लाइभदाङ । १ भाद्र २०८३, सोमबार १८:३४ बजे