डेङ्गु रोकथामबारे रेडक्रसको अभिमुखीकरण

लमही, ०१ भदौ।
नेपाल रेडक्रस सोसाइटी जुनियर युवा रेडक्रस जिल्ला समिति दाङको आयोजनामा देउखुरी क्षेत्रमा गठन भएका जुनियर रेडक्रस सर्कलका शिक्षक नायक तथा स्वयंसेवकका लागि डेङ्गु रोगको रोकथाम तथा बच्ने उपायसम्बन्धी अभिमुखीकरण कार्यक्रम शनिबार लमहीमा सम्पन्न भएको छ।

देउखुरी क्षेत्रका लमही, राजपुर, गढवा र राप्ती गाउँपालिकाभित्रका सामुदायिक तथा संस्थागत विद्यालयका शिक्षक नायक र स्वयंसेवक गरी ३० जनाको सहभागिता रहेको कार्यक्रममा डेङ्गु रोगको कारण, रोकथामका उपाय, नेपाल सरकारको डेङ्गु नियन्त्रण रणनीति तथा रोग नियन्त्रणमा समुदायको भूमिकाबारे जानकारी दिइएको थियो।

कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक विमल केसी र लमही नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मिना भुसालले डेङ्गु रोग लाग्ने कारण, यसबाट बच्ने उपाय तथा नेपालमा डेङ्गुको अवस्थाबारे प्रशिक्षण दिएका थिए। उनीहरूले डेङ्गु नियन्त्रणका लागि लामखुट्टेको बासस्थान नष्ट गर्ने, घर तथा विद्यालय परिसरमा पानी जम्न नदिने र समुदायस्तरमा सचेतना फैलाउने विषयमा जोड दिएका थिए।


कार्यक्रममा सहभागी शिक्षक नायक तथा स्वयंसेवकलाई डेङ्गु नियन्त्रणका लागि विद्यालय र समुदायमा सचेतना फैलाउन तथा रोकथामका गतिविधिमा सक्रिय भूमिका निर्वाह गर्न आग्रह गरिएको थियो।

जुनियर युवा रेडक्रस दाङका संयोजक भीमलाल मरासिनीको अध्यक्षता तथा नेपाल रेडक्रस सोसाइटी दाङका मन्त्री प्रकाश श्रीवन्दको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रमको सञ्चालन रेडक्रस दाङका कार्यालय प्रमुख विश्राम अधिकारीले गरेका थिए।