
दंगीशरण, २९ श्रावण ।
दाङको दंगीशरण गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ मा सञ्चालन गरेका स्वास्थ्यसम्बन्धी कार्यक्रम तथा सेवा प्रवाहको वार्षिक समीक्षा गर्दै आगामी आर्थिक वर्षका लागि स्वास्थ्य क्षेत्रको योजना तर्जुमा गर्ने उद्देश्यले आयोजना गरेको दुईदिने समीक्षा गोष्ठी शुक्रबार सम्पन्न भएको छ।
दंगीशरण गाउँपालिकाको सभाहलमा बिहीबारदेखि सुरु भएको गोष्ठीको गाउँपालिका अध्यक्ष शम्भु गिरीले उद्घाटन गर्नुभएको थियो। गोष्ठीमा गाउँपालिकाअन्तर्गतका स्वास्थ्य संस्था तथा स्वास्थ्य शाखाबाट आर्थिक वर्ष २०८२/८३ मा सञ्चालन गरिएका विभिन्न स्वास्थ्य कार्यक्रम, सेवा प्रवाह, उपलब्धि, समस्या तथा चुनौतीका विषयमा विस्तृत समीक्षा गरिएको थियो।
कार्यक्रममा स्वास्थ्य क्षेत्रको प्रगति तथा सेवा प्रवाहसँग सम्बन्धित तथ्याङ्कको समीक्षा गर्दै आगामी दिनमा स्वास्थ्य सेवालाई थप प्रभावकारी, गुणस्तरीय, पहुँचयोग्य तथा नागरिकमैत्री बनाउने विषयमा छलफल गरिएको थियो। साथै स्थानीय नागरिकका स्वास्थ्यसम्बन्धी आवश्यकता, प्राथमिकता तथा स्थानीयस्तरमा देखिएका समस्याको पहिचान गरी आगामी आर्थिक वर्षमा सोहीअनुसार कार्यक्रम तथा योजना निर्माण गर्ने विषयमा समेत छलफल भएको थियो।
गोष्ठीले विगत वर्षमा सञ्चालन गरिएका स्वास्थ्य कार्यक्रमको उपलब्धि, प्रभावकारिता तथा सुधार गर्नुपर्ने पक्ष पहिचान गर्दै आगामी दिनमा स्वास्थ्य सेवा थप व्यवस्थित र प्रभावकारी बनाउन महत्वपूर्ण आधार तयार गरेको गाउँपालिकाले जनाएको छ। गाउँपालिकाले स्वास्थ्य क्षेत्रलाई नागरिकको जीवनस्तर, समृद्धि र सामाजिक विकाससँग प्रत्यक्ष जोडिएको महत्वपूर्ण क्षेत्रका रूपमा प्राथमिकता दिँदै आएको जनाएको छ।
दुईदिने समीक्षा तथा योजना तर्जुमा गोष्ठीमा गाउँपालिकाका जनप्रतिनिधि, स्वास्थ्य शाखाका कर्मचारी, स्वास्थ्यकर्मी, स्वास्थ्य संस्थाका प्रमुख तथा सम्बन्धित सरोकारवालाहरूको सहभागिता रहेको थियो।
उत्कृष्ट स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मी सम्मानित
गोष्ठीकै अवसरमा दंगीशरण गाउँपालिकाअन्तर्गतका स्वास्थ्य संस्थामध्ये उत्कृष्ट कार्यसम्पादन गर्ने स्वास्थ्य संस्थालाई सम्मान गरिएको थियो। साथै स्वास्थ्य क्षेत्रमा उत्कृष्ट योगदान पुर्याउँदै सेवा प्रवाहमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने ६ जना स्वास्थ्यकर्मीलाई ‘हेल्थ हिरो अफ दंगीशरण’का रूपमा सम्मान गरिएको थियो। उनीहरूले फागुन महिनादेखि हालसम्म उत्कृष्ट कार्यसम्पादन गरेको गाउँपालिकाले जनाएको छ।
स्वास्थ्यकर्मीको योगदानको उच्च मूल्याङ्कन गर्दै गरिएको सम्मानले स्वास्थ्य क्षेत्रमा कार्यरत कर्मचारी तथा स्वास्थ्यकर्मीलाई थप उत्साह र जिम्मेवारीका साथ सेवा प्रवाह गर्न प्रेरणा मिल्ने अपेक्षा गरिएको छ।



लाइभदाङ । २९ श्रावण २०८३, शुक्रबार २१:३३ बजे