
दाङ,२७ फागुन ।
दाङ क्षेत्र नं.३ बाट रास्वपाका कमल सुवेदी विजयी भए । यद्यपी जिल्लाका तीन वटै निर्वाचन क्षेत्रबाट रास्वपाका उम्मेदवार नै विजयी भए । ति मध्ये चासोका साथ हेरिएको क्षेत्र दाङ ३ पनि थियो । छैठौ पटक चुनाब लडेका काँग्रेसका दीपक गिरी, पूर्व नगर प्रमुख घनश्याम पाण्डे, पूर्व लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीको आ–आफ्नै छाप थियो ।
तर,उनीहरुलाई कमलले उछिने । २०७९ मा १५ हजार तीनसय मत ल्याएका उनले हालै भएको निर्वाचनमा ४४ हजार दुईसय ४८ मत ल्याएर विजयी भए । प्रतिस्पर्धी काँग्रेसका दीपक गिरीलाई २७ हजार सातसय ९५ मतले हराएका कमलले चुनाबको बेला भने लिएका
बाचाहरु यस्ता छन् ः
–अन्तराष्ट्रिय स्तरको थारु संस्कृतिक संग्रहालय र अनुसन्धान केन्द्र स्थापना गर्ने
–राप्ती प्रादेशिक अस्पतालको स्तरबृद्धि गर्ने ।
–पश्चिम दाङका प्रत्येक टोलमा डिपबोरिङ निर्माण गर्ने ।
–किसानलाई पेन्सन र कृषि बीमाको कार्यक्रम ल्याउने ।
–खेति सुरु हुनु अघि नै मल र विउ उपलब्ध गराउने ।
–एक स्थानीय तह, एक नमुना विद्यालय बनाउने ।
–एक विद्यालय, एक आधुनिक पुस्तकालय निर्माण गर्ने ।
–भूमि समस्या समाधान गर्ने ।
–युवालाई रोजगारमा जोड्न एकीकृत डिजिटल प्लेटफर्म तयार गर्ने ।
–अनलाईन गेमिङलाई ब्यबस्थित गर्न कानुन बनाउने ।
–विदेशमा रहेका नेपालीलाई मतदान गर्ने ब्यबस्था मिलाउने ।
को हुन्, सुवेदी ?
सुवेदी यस अघि पनि प्रतिनिधिसभा सदस्यका उम्मेदवार थिए । २०७९ को निर्वाचनमा रास्वपाबाटै उम्मेदवार बनेका सुवेदी तत्कालिन अबस्थामा काँग्रेसका दीपक गिरीसंगै पराजित भए । तत्कालिन अबस्थामा सुवेदीले १५ हजार तीन सय मत ल्याएका थिए, तर, अहिले सुवेदीले गिरीलाई नै पराजित गरे । गिरीले १६ हजार चारसय ५३ मत मात्रै प्राप्त गर्दा सुवेदीले ४४ हजार दुईसय ४८ मत प्राप्त गरे । दाङ दंगीशरण गाउँपालिका–४ मौलीमा जन्मिएका उनले प्रारम्भीक शिक्षा लक्ष्मीनारायण प्रावि र वीरेन्द्र मावि हेकुलीबाट गरे । तर, उच्च शिक्षाका लागि उनी जिल्ला भन्दा बाहिर जानु प¥यो । उनले त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्रमा स्नातकोत्तर गरे । त्यसको केही समयपछि उनी क्यानडा सरकारको पूर्ण छात्रवृत्तिमा सेन्ट फ्रान्सिस जेभियर विश्वविद्यालयमा अध्यन गरे । जहाँबाट ‘डेभलपमेन्ट लिडरसिप’ मा डिप्लोमा गरे । उनले सामाजिक काममा पनि सुरुवात गरे । सामाजिक काम गरेकै कारण उनले २०७९ मा रास्वपाको टिकेट ल्याए ।
दिवंगत आमाको स्मृतिमा विष्णुदेवी फाउन्डेसन स्थापना गरी गरिब र असहायका लागि निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गर्नुकासाथै २०७२ को भूकम्पको समय र कोभिड–१९ को महामारीका बेला उनी राहत वितरणमा सक्रिय भए । उनले सञ्चार क्षेत्रमा पनि अग्रसरता देखाए । उनले दाङको बबई गाउँपालिका ५ हापुरेमा सामुदायिक रेडियो हापुरे सञ्चालन गरे । उनी असल शासन संरक्षण मञ्चको अध्यक्ष थिए । त्यसकै नाममा रेडियो सञ्चालन गरे । उनी स्वपाको स्थापनाकालदेखि नै केन्द्रीय प्रशिक्षण विभाग सचिवका रूपमा सक्रिय छन् ।



लाइभदाङ । २७ फाल्गुन २०८२, बुधबार १०:४८ बजे