विकट राप्तीमा सञ्चार पहुँच बढाउन अध्यक्ष विष्टको आग्रह

भालुवाङ, २९ साउन ।
दाङको राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले गाउँपालिकाका विभिन्न विकट तथा पहाडी क्षेत्रमा मोबाइल तथा सञ्चार सेवा विस्तार गरी गुणस्तरीय बनाउन सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिना समक्ष आग्रह गर्नु भएको छ।

अध्यक्ष विष्टले शुक्रबार मन्त्री तिमिल्सिनासँग मन्त्रालयमा भेट गरी सञ्चार पहुँच कमजोर रहेका गाउँपालिकाका पहाडी तथा दुर्गम क्षेत्रमा मोबाइल तथा सञ्चार सेवा विस्तारका लागि आवश्यक पहल गरिदिन आग्रह गर्नु भएको हो।

भेटका क्रममा उहाँले सञ्चार सेवाको पहुँच नहुँदा विकट क्षेत्रका नागरिकलाई सूचना आदान–प्रदान, आपत्कालीन सेवा तथा सरकारी सेवा प्रवाहमा समेत समस्या हुने गरेको बताउनुभयो। त्यसका लागि आवश्यक स्थानमा मोबाइल टावर स्थापना तथा विद्यमान सञ्चार सेवालाई थप प्रभावकारी र गुणस्तरीय बनाउन संघीय सरकारको पहल आवश्यक रहेको उहाँले बताउनुभयो।


राप्ती गाउँपालिकाका विभिन्न पहाडी बस्तीमा अझै पनि मोबाइल नेटवर्क कमजोर रहेको भन्दै अध्यक्ष विष्टले सम्बन्धित निकायसँग समन्वय गरी सञ्चार पूर्वाधार विस्तारमा प्राथमिकता दिन मन्त्रीसमक्ष अनुरोध गर्नु भएको छ।

भेटका क्रममा मन्त्री तिमिल्सिनाले सञ्चार पहुँच विस्तारका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ । अध्यक्ष विष्टले सञ्चार सेवा नागरिकको आधारभूत आवश्यकतासँग जोडिएको विषय भएकाले विकट बस्तीमा समेत भरपर्दो मोबाइल तथा इन्टरनेट सेवा पुर्‍याउन गाउँपालिकाले निरन्तर पहल गर्दै आएको बताउनुभयो ।