
काठमाडौं, २२ जेठ । नेपाल सरकारको वन तथा वातावरण मन्त्रालय अन्तर्गतको वातावरण विभागले पत्रकार ओपेन्द्र बस्नेतलाई ‘वातावरण प्रवद्र्धन पत्रकारिता पुरस्कार’बाट सम्मान गरेको छ । विश्व वातावरण दिवसको अवसरमा काठमाडौंमा आयोजित एक विशेष समारोहमा बस्नेतलाई पत्रकारितामार्फत वातावरण संरक्षणमा पु¥याएको योगदानको कदर गर्दै पुरस्कृत गरिएको हो । पत्रकार बस्नेतलाई नगद ५० हजार सहित प्रमाणपत्रले वन तथा वातावरण राज्यमन्त्री रूपा बिकले सम्मान गरेकी हुन् ।
सम्मान ग्रहणपछि बोल्दै बस्नेतले वातावरण संरक्षण सबैको साझा जिम्मेवारी भएको बताउँदै यो सम्मानले आफूलाई थप जिम्मेवार बनाएको र वातावरण संरक्षणका मुद्दाहरूलाई अझ सशक्त रूपमा उठाउने प्रेरणा मिलेको बताए ।
विगत दुई दशकदेखि पत्रकारिता क्षेत्रमा सक्रिय रहेका पत्रकार बस्नेत हाल रेडियो प्रकृति एफएमका स्टेशन म्यानेजर, तुलसीपुर खबर डटकमका प्रकाशक एवं सम्पादक तथा राजधानी दैनिकका दाङ प्रतिनिधिका रूपमा क्रियाशील छन् ।
यसअघि उनले रेडियो नेपाल, नेपाल एफएम, नयाँ युगबोध दैनिक, रातोपाटी, रेडियो मध्यपश्चिमजस्ता सञ्चारमाध्यममा काम गरिसकेका छन् । उनी नेपाल पत्रकार महासंघ दाङको उपाध्यक्ष समेत हुन् । ्



लाइभदाङ । २३ जेष्ठ २०८२, बिहीबार २१:४२ बजे