राप्ती चेम्बर अफ कमर्सको चौथो वार्षिक साधारणसभा सम्पन्न

ओमप्रकाश गुप्ता
भालुवाङ, २३ साउन ।
राप्ती चेम्बर अफ कमर्सको चौथो वार्षिक साधारणसभा शनिबार राप्ती गाउँपालिका–५ सिसहनियाँमा सम्पन्न भएको छ। सभामा उद्योगी तथा व्यवसायीलाई नाफा कमाउने नाममा कालोबजारी र उपभोक्ता ठगी नगरी व्यवसायमा इमानदारी कायम गर्न सुझाव दिइएको छ।

नेपाल चेम्बर अफ कमर्स लुम्बिनी प्रदेशका सदस्य शंकर गौतमले उद्योगी तथा व्यवसायीले थोरै नाफाका लागि उपभोक्तालाई ठग्ने र बजारमा विकृति बढाउने काम गर्न नहुने बताए। उनले व्यवसायमा इमानदारी कायम गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मापदण्डअनुसार समयानुकूल आफूलाई परिवर्तन गर्न व्यवसायीलाई आग्रह गरे।

बजारमा देखिने विकृति नियन्त्रणका लागि अनुगमन र नियमन सबैको साझा दायित्व रहेको बताउँदै गौतमले व्यवसायीलाई आत्मनिर्भर बन्नेतर्फ अघि बढ्न सुझाव दिए।

चेम्बरका अध्यक्ष बसन्तबहादुर कुँवर क्षेत्रीको अध्यक्षता तथा प्रदेश सदस्य गौतमको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा राप्ती गाउँपालिका–५ का वडाध्यक्ष देवप्रसाद चौधरी विशिष्ट अतिथि थिए।


सभामा चेम्बरका महासचिव खेमराज अर्यालले वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष अर्जुनकुमार क्षेत्रीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए।

कार्यक्रममा सिसहनियाँ उद्योग वाणिज्य संघका अध्यक्ष ईश्वरीप्रसाद अधिकारी, प्रगतिनगर शहरी खानेपानी सरसफाइ तथा उपभोक्ता संस्थाका अध्यक्ष तीर्थराज ज्ञवाली, इलाका प्रहरी कार्यालय सिसहनियाँका निमित्त प्रमुख प्रहरी सहायक निरीक्षक मदन एमसी, राप्ती प्रेस मञ्चका अध्यक्ष अर्जुनकुमार अधिकारी, लालमटिया बजार व्यवस्थापन समितिका अध्यक्ष नारायण भुसाल र कृषि चेम्बर अफ कमर्सका अध्यक्ष प्रेमलाल चौधरीलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

चेम्बरकी दोस्रो उपाध्यक्ष लक्ष्मी पोख्रेलको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन प्रेस सल्लाहकार ओमप्रकाश गुप्ताले गरेका थिए।