
तुलसीपुर,२२ जेठ ।
विश्व वातावरण दिवस–२०८३ को अवसरमा तुलसीपुर उपमहानगरपालिका–९ बेलुवास्थित सगरमाथा स्कुलले वातावरण संरक्षण र प्रकृतिप्रतिको जिम्मेवारीबोध अभिवृद्धि गर्ने उद्देश्यले विविध कार्यक्रम सम्पन्न गरेको छ। विद्यालयले तुलसीपुर–९ थर्को डाँडास्थित शिव मन्दिर तथा मन्दिर परिसरमा सरसफाइ, वृक्षारोपण, जङ्गल अवलोकन तथा जानकारीमूलक कार्यक्रम सञ्चालन गरेको हो।
विद्यालयका प्रधानाध्यापक छवि कुमार ओली को अध्यक्षता तथा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष विनोद अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विद्यार्थी, शिक्षक तथा स्थानीय सरोकारवालाहरूको उत्साहजनक सहभागिता रहेको थियो।
कार्यक्रमअन्तर्गत विद्यार्थीहरूले शिव मन्दिर तथा मन्दिर परिसरको सरसफाइ गरी धार्मिक स्थलहरू स्वच्छ राख्नु सबैको साझा दायित्व भएको सन्देश दिएका थिए। साथै मन्दिर परिसरमा विभिन्न प्रजातिका बिरुवा रोपेर हरियाली प्रवर्द्धनमा योगदान पुर्याएका थिए।
प्रमुख अतिथि विनोद अधिकारीले वातावरण संरक्षण र धार्मिक स्थलको स्वच्छताबीच घनिष्ठ सम्बन्ध रहेको बताउँदै भन्नुभयो आजका बालबालिकाले प्रकृतिलाई माया गर्न सिके भने भोलिको समाज अझ जिम्मेवार र सभ्य बन्न सक्छ। वातावरण जोगाउनु भनेको भविष्य जोगाउनु हो।
कार्यक्रमका अध्यक्ष एवं विद्यालयका प्रधानाध्यापक छवि कुमार ओलीले भन्नुभयो पुस्तकमा पढेका विषयलाई व्यवहारमा उतार्ने अवसर यस्ता कार्यक्रमले प्रदान गर्छन्। वातावरण संरक्षणको संस्कार विद्यालयबाटै विकास हुनुपर्छ ।
कार्यक्रममा विद्यालयका एकाडेमिक हेड तिलक डाँगी, सगरमाथा स्कुल चाइल्ड क्लबका अध्यक्ष सुजल डाँगी तथा सगरमाथा क्वालिटी सर्कलका अध्यक्ष मिसन केसी लगायतले वातावरण संरक्षण, वृक्षारोपण, जैविक विविधता तथा प्राकृतिक सम्पदाको महत्वबारे मन्तव्य व्यक्त गर्नुभएको थियो।
मन्दिरको काखमा बसेर विद्यार्थीहरूले नवग्रहका बारेमा जानकारी लिएका थिए भने नजिकैको जंगलको अवलोकन गर्दै वनस्पति, जैविक विविधता र प्राकृतिक स्रोतहरूको महत्वबारे अध्ययन गरेका थिए। साथै विद्यालय परिसरमा समेत सरसफाइ अभियान सञ्चालन गरी विभिन्न प्रजातिका बोटबिरुवा रोपिएका थिए।
कार्यक्रमको अन्त्यमा सहभागीहरूले वातावरण संरक्षण, नियमित सरसफाइ, वृक्षारोपण तथा प्रकृतिमैत्री जीवनशैली अपनाउने सामूहिक प्रतिबद्धता व्यक्त गरेका थिए। विद्यालयले यस्ता कार्यक्रमले विद्यार्थीहरूमा वातावरणीय चेतना, सामाजिक उत्तरदायित्व र प्रकृतिप्रतिको सम्मान अभिवृद्धि हुने विश्वास व्यक्त गरेको छ।



लाइभदाङ । २२ जेष्ठ २०८३, शुक्रबार २१:५१ बजे