सडक दुर्घटनामा श्रीमान् गुमाएकी महिलालाई कुमारी बैंक गढवाद्वारा १० लाख रुपैयाँ बीमा दाबी भुक्तानी

आलोक भावुक
गढवा, २२ श्रावण
सडक दुर्घटनामा श्रीमान् गुमाएकी दाङको गढवा गाउँपालिका वडा नम्बर ५ बाकीकी खुमा पौडेलले कुमारी बैंक लिमिटेड गढवा शाखामार्फत १० लाख रुपैयाँ बीमा दाबी रकम प्राप्त गरेकी छन्। बैंकले शुक्रबार आयोजित कार्यक्रममा ‘कुमारी परिवार सुरक्षा बचत खाता (PSDK)’ अन्तर्गत उपलब्ध बीमा सुविधाअनुसार उक्त रकमको चेक हस्तान्तरण गरेको हो।

पौडेलका श्रीमान् रामप्रसाद रिजालको २०८२ चैत ३ गते भएको सडक दुर्घटनामा असामयिक निधन भएको थियो। उहाँले कुमारी बैंकको ‘कुमारी परिवार सुरक्षा बचत खाता’ सञ्चालन गरिरहनुभएको र सो खातासँग आबद्ध जीवन बीमा सुविधाअन्तर्गत बैंकले रु। १० लाख बराबरको बीमा दाबी रकम उपलब्ध गराएको जनाएको छ। चेक हस्तान्तरण कार्यक्रममा कुमारी बैंक लिमिटेड गढवा शाखाका प्रमुख शरद सिंह पाण्डेयले विपद्, दुर्घटना वा अन्य दुःखद परिस्थितिमा परिवारलाई आर्थिक रूपमा केही हदसम्म सुरक्षित राख्ने उद्देश्यले ‘कुमारी परिवार सुरक्षा बचत खाता’ सञ्चालन गरिएको बताउनुभयो।

उहाँले भन्नुभयो, जीवन अनिश्चित छ। कुनै पनि परिवारले अकस्मात् ठूलो दुर्घटना वा परिवारको मुख्य सदस्य गुमाउँदा आर्थिक संकटसमेत भोग्नुपर्ने अवस्था आउन सक्छ। त्यस्तो कठिन समयमा बीमा सुविधा परिवारका लागि ठूलो सहारा बन्न सक्छ। कुमारी परिवार सुरक्षा बचत खाताले बचत गर्ने बानीको विकाससँगै ग्राहकलाई आर्थिक सुरक्षा प्रदान गर्ने उद्देश्य बोकेको छ। यस्तो सेवाबाट ग्राहकले बचत मात्र होइन, विपद्को समयमा राहत दिने वित्तीय संरक्षण पनि प्राप्त गर्न सक्नुहुन्छ । शाखा प्रमुख पाण्डेयले पछिल्लो समय बैंकिङ सेवा केवल बचत र ऋणमा सीमित नरही ग्राहकको सामाजिक तथा आर्थिक सुरक्षासँग जोडिएका सेवामा समेत केन्द्रित हुँदै गएको उल्लेख गर्नुभयो। उहाँका अनुसार बीमा सुविधा जोडिएका बचत खाताले भविष्यमा आउन सक्ने अप्रत्याशित जोखिमको आर्थिक भार कम गर्न महत्वपूर्ण भूमिका खेल्ने गरेका छन्। बैंकका अनुसार ‘कुमारी परिवार सुरक्षा बचत खाता’ सञ्चालन गर्ने योग्य ग्राहकले बचतसँगै दुर्घटना तथा जीवन बीमालगायतका विभिन्न वित्तीय सुरक्षाका सुविधा प्राप्त गर्न सक्ने व्यवस्था रहेको छ। यस्ता सुविधाले आकस्मिक घटनाका कारण परिवारमा सिर्जना हुने आर्थिक समस्या न्यूनीकरण गर्न सहयोग पुग्ने विश्वास बैंकको छ।


दुःखद घटनाले परिवारमा परेको अपूरणीय क्षतिको पूर्ति कुनै रकमले गर्न नसक्ने भए पनि प्राप्त बीमा दाबी रकमले रिजाल परिवारलाई आर्थिक रूपमा केही राहत पुग्ने अपेक्षा गरिएको छ। १० लाख रुपैयाँमा ७० वर्ष उमेर सम्म बिमाको सुविधा लिन अनुरोध समेत गरेको छ। १८ वर्ष मुनिका २ जना र श्रीमान‌ श्रीमती गरी चार जनाको बिमा गर्दै आएको छ।

कार्यक्रमको सहजीकरण कुमारी बैंक लिमिटेडका सरोज बस्नेतले गर्नुभएको थियो।