
तुलसीपुर,२२ साउन ।
समाजमा वातावरणीय शिक्षाको विकास (सीड) को आयोजना र डिकेय अस्ट्रियाको सहयोगमा बिहीबार बैंक, वित्तीय संस्था र साना किसानहरूबीच समन्वयात्मक कार्यक्रम भएको छ। कृषि क्षेत्रमा वित्तीय पहुँच बढाउने र बैंक तथा किसानबीचको व्यवहारिक खाडललाई कम गर्ने उद्देश्यले आयोजित उक्त कार्यक्रम संस्थाका अध्यक्ष राममोती चौधरीको अध्यक्षतामा भएको थियो ।
जहाँ किसानहरूका समस्याका विषयमा नवराज रावत, बिनोद चौधरीलगायतका किसानहरुले आफ्ना जिज्ञासाहरू राखेका थिए । विशेष गरी साना किसानहरूले बैंकबाट ऋण प्राप्त गर्ने प्रक्रिया, यसमा आइपर्ने कानुनी तथा प्राविधिक जटिलता र सहज कर्जा प्रवाहका सम्बन्धमा रावतले प्रश्न राखेका थिए ।
किसानको जिज्ञासालाई सम्बोधन गर्दै सानीमा बैंकका शाखा प्रमुख मछिन्द्र कुमार भण्डारी, नबिल बैंकका कृष्ण पुडासैनी र राष्ट्रिय सहकारी बैंकका वरिष्ठ सहायक सुजन खनालले बैंकहरू कृषि क्षेत्रमा लगानी गर्न पूर्ण रूपमा तयार र आतुर हेको स्पष्ट पारे । हाल वित्तीय प्रणालीमा पर्याप्त लगानीयोग्य रकम (तरलता) उपलब्ध छ र कतिपय अवस्थामा त पैसा डम्पिङ्ग भएर बसेको स्थिति समेत रहेको उनीहरुको भनाइ थियो ।
तथापि, बैंकहरूले ऋण प्रवाह गर्दा केही महत्वपूर्ण सर्तहरूमा कडाइ गरिने जानकारी दिएका छन् बैंकबाट कर्जा लिन चाहने ऋणीमा इमान्दारिता हुनु सबैभन्दा पहिलो सर्त हो । कृषि व्यवसाय सञ्चालनका लागि भनेर लिइएको ऋणलाई अन्य सहायक परियोजना वा व्यक्तिगत प्रयोजनमा खर्च नगरी तोकिएको कृषि कार्यमै लगानी गर्नुपर्नेमा बैंक प्रतिनिधिहरूले विशेष जोड दिए ।
यसैगरी, छलफलका क्रममा बैंकहरूले किसानहरूलाई सामूहिक लगानी का लागि प्रोत्साहित गरेका छन् । व्यक्तिगत रूपमा गरिने लगानीभन्दा सामूहिक रूपमा गरिने कृषि कार्यमा जोखिम कम हुने, उत्पादकत्व बढ्ने र बैंकबाट ऋण लिन समेत थप सहज र प्रभावकारी हुने सुझाव उनीहरूले दिएका छन् ।
कार्यक्रमको सहजीकरण संस्थाका कार्यकारी निर्देशक भागिराम चौधरीले गरेका थिए ।



लाइभदाङ । २२ श्रावण २०८३, शुक्रबार ०६:४५ बजे