
घोराही, २० साउन ।
डिभिजन सिँचाइ कार्यालय तुलसीपुरका पूर्व कार्यालय प्रमुख तथा हाल सेवा निवृत्त सिनियर डिभिजन इन्जिनियर कृष्णबहादुर बिक र उहाँकी धर्मपत्नी लक्ष्मी बिकले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई तीन थान ह्विलचेयर सहयोग गर्नुभएको छ।
घोराही उपमहानगरपालिका–१५ निवासी दम्पतीले आफ्नो सामाजिक उत्तरदायीत्व बहन गर्नेक्रममा ब्यक्तिगतरुपमा बिरामीको सहज सेवा र उपचार प्रक्रियालाई थप प्रभावकारी बनाउन सहयोगस्वरूप ह्विलचेयर उपलब्ध गराउनुभएको हो। प्रतिष्ठानमा उपचारका लागि आउने बिरामीलाई एक विभागबाट अर्को विभागमा सुरक्षित र सहज रूपमा आवतजावत गराउन सहयोग पुग्ने उद्देश्यले उक्त सामग्री हस्तान्तरण गरिएको जनाइएको छ।
बुधबार आयोजित एक कार्यक्रममा बिक परिवारले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका अस्पताल निर्देशक तथा सह–प्राध्यापक डा. सुरेश रसाइलीलाई तीन थान ह्विलचेयर हस्तान्तरण गर्नुभयो।
ह्विलचेयर ग्रहण गर्दै अस्पताल निर्देशक डा. रसाइलीले दम्पतीले प्रदान गर्नुभएको सहयोगले बिरामीमैत्री सेवा प्रवाहमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले सामाजिक उत्तरदायित्वको भावनासहित गरिएको यस्तो सहयोगले अन्य व्यक्ति तथा संघसंस्थालाई पनि स्वास्थ्य क्षेत्रमा योगदान गर्न प्रेरणा मिल्ने बताउनुभयो।
प्रतिष्ठानले सहयोगी दम्पतीप्रति आभार व्यक्त गर्दै उपलब्ध गराइएका ह्विलचेयर बिरामीको सेवामा प्रभावकारी रूपमा प्रयोग गरिने जनाएको छ।



लाइभदाङ । २० श्रावण २०८३, बुधबार २१:१५ बजे