निःशुल्क तालिम र रोजगारीमा जोड्न ६ बुँदे सम्झौता

घोराही, २० साउन ।
विपन्न तथा बेरोजगार युवालाई सीपमूलक तालिममार्फत रोजगारी र स्वरोजगारीमा जोड्ने उद्देश्यले घोराही बनाऔँ अभियान र इन्सपायर यु एकेडेमी बीच ६ बुँदे सम्झौता भएको छ। सम्झौतामा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र इन्सपायर यु एकेडेमीका निर्देशक बलभद्र ओली ले हस्ताक्षर गरेका छन्। नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सन्तोष सुवेदीको विशेष उपस्थितिमा सम्झौता सार्वजनिक कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै पत्रकार महासंघ दाङका अध्यक्ष सुवेदीले विपन्न युवाहरूलाई स्वरोजगार बनाउनको लागि गरिएको कार्यक्रम प्रशंसानीय भएको बताउनुभयो।

सम्झौताअनुसार आर्थिक रूपमा कमजोर, विपन्न तथा बेरोजगार युवालाई पूर्ण रूपमा निःशुल्क बजारमुखी सीपमूलक तालिम प्रदान गरिनेछ। तालिमअन्तर्गत कफी (बारिस्टा), बेकरी, कुकिङ, वेटर, हाउसकिपिङ, ग्राहक सेवा, कम्प्युटर लगायत रोजगारीको उच्च सम्भावना भएका विभिन्न विषय समेटिनेछन्। दुवै संस्थाले युवालाई केवल तालिममा सीमित नराखी प्रत्यक्ष रोजगारीसँग जोड्ने लक्ष्य लिएका छन्।

सम्झौताको दोस्रो बुँदामा प्रशिक्षार्थी छनोट प्रक्रिया पारदर्शी र निष्पक्ष बनाइने उल्लेख गरिएको छ। दुवै संस्थाको संयुक्त समन्वयमा आवश्यक मापदण्डका आधारमा प्रशिक्षार्थी छनोट गरिनेछ। साथै महिला, दलित, जनजाति, अपाङ्गता भएका व्यक्ति तथा पिछडिएका समुदायका युवालाई विशेष प्राथमिकता दिइने व्यवस्था गरिएको छ।

यस्तै, तालिम सफलतापूर्वक पूरा गरेका कम्तीमा ७० प्रतिशत प्रशिक्षार्थीलाई होटल, रेस्टुरेन्ट, कफी हाउस, बेकरी तथा अन्य सम्बन्धित क्षेत्रमा इन्टर्नसिप वा रोजगारीका लागि सहजीकरण गरिने सम्झौतामा उल्लेख छ। यसले सीप सिकेर पनि रोजगारी नपाउने समस्यालाई न्यूनीकरण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। सम्झौताअनुसार तालिम पूरा गर्ने सहभागीलाई मान्यताप्राप्त प्रमाणपत्र प्रदान गरिनेछ। स्वरोजगार गर्न चाहने युवालाई व्यवसाय योजना तयार गर्न, आवश्यक परामर्श उपलब्ध गराउन तथा उद्यम सञ्चालनका लागि आवश्यक सहजीकरणसमेत गरिने भएको छ। यसबाट स्थानीय स्तरमै उद्यमशीलता विकास गरी आत्मनिर्भर अर्थतन्त्र निर्माणमा टेवा पुग्ने विश्वास लिइएको छ।


तालिमको गुणस्तर कायम राख्न दुवै संस्थाले नियमित अनुगमन तथा मूल्याङ्कन गर्ने सहमति पनि गरेका छन्। प्रशिक्षार्थीको उपस्थितिदेखि सिकाइ उपलब्धि, तालिमको प्रभावकारिता र रोजगारीको अवस्थासम्म निरन्तर मूल्याङ्कन गरिनेछ। आवश्यक स्रोत–साधन, प्रशिक्षक व्यवस्थापन, सूचना प्रवाह, प्रचार–प्रसार तथा साझेदारी विस्तारमा पनि दुवै पक्षले आपसी समन्वय र सहकार्य गर्नेछन्।

सम्झौता प्रारम्भिक रूपमा एक वर्षका लागि लागू हुने र आवश्यकता अनुसार आपसी सहमतिमा नवीकरण, संशोधन वा थप कार्यक्रम सञ्चालन गर्न सकिने व्यवस्था गरिएको छ। सम्झौताका सबै बुँदालाई इमान्दारीपूर्वक कार्यान्वयन गर्ने प्रतिबद्धता दुवै संस्थाले व्यक्त गरेका छन्। सम्झौतापछि घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन ले सीप, शिक्षा र रोजगारीलाई एकीकृत गर्दै युवालाई आत्मनिर्भर बनाउने अभियानको सुरुआत भएको बताए। उनले स्थानीय तह, निजी क्षेत्र र सामाजिक संस्थाबीच सहकार्य भएमा बेरोजगारी न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल गर्न सकिने धारणा व्यक्त गरे।

इन्सपायर यु एकेडेमीका निर्देशक बलभद्र ओली ले तालिमलाई व्यवहारिक, गुणस्तरीय र श्रम बजारको मागअनुसार सञ्चालन गरिने जानकारी दिए। उनले सीप सिकेका युवालाई रोजगारदातासँग जोड्ने र स्वरोजगार बन्न चाहनेलाई आवश्यक मार्गदर्शन प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्दै यो सहकार्यले दाङका युवाका लागि नयाँ अवसर सिर्जना गर्ने विश्वास व्यक्त गरे।