
तुलबहादुर कवँर मगर
दाङ, २९ साउन।
रोल्पाको थवाङ गाउँपालिका–५, कोटलबारामा पहिरोमा परी भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै नेपाल मगर संघ, लुम्बिनी प्रदेश समितिले राहत संकलन अभियान सञ्चालन गर्ने भएको छ।
नेपाल मगर संघ लुम्बिनी प्रदेश समितिका अध्यक्ष खुलप्रसाद पुन मगरले शुक्रबार अपिल जारी गर्दै थवाङमा भएको दुःखद घटनाका पीडित परिवारलाई तत्काल राहत उपलब्ध गराउन प्रदेशका सबै जिल्ला समन्वय समिति, भ्रातृ संगठन तथा पालिकास्तरीय समितिलाई राहत संकलनमा जुट्न आग्रह गर्नुभएको हो।
साउन २७ गते बेलुका करिब ८ बजे थवाङ गाउँपालिका–५, कोटलबारामा लेदोसहित आएको भीषण पहिरोमा परी ठूलो धनजनको क्षति भएको थियो। घटनामा ज्यान गुमाउनेप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै संघले शोकाकुल परिवार तथा आफन्तजनमा समवेदना व्यक्त गरेको छ।
संघले घटनालाई मध्यनजर गर्दै सम्बन्धित स्थानमै राहत संकलन कार्यक्रम बनाई भदौ ४ गते हस्तान्तरण गर्ने जनाएको छ। त्यसका लागि भदौ २ गतेभित्र संकलन भएको राहत रकम प्रदेश समितिमा दाखिला गराउन अनुरोध गरिएको छ।
संकलन गरिएको राहत रकम, सामग्री तथा दाताहरूको विवरण पारदर्शिताका साथ उपलब्ध गराउनसमेत नेपाल मगर संघ लुम्बिनी प्रदेश समितिले आग्रह गरेको छ।




लाइभदाङ । २९ श्रावण २०८३, शुक्रबार १९:५५ बजे