
दाङ, २८ भदौ ।
जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान र दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानबिच स्वास्थ्य शिक्षा, सेवा र अनुसन्धानको क्षेत्रमा सहकार्य गर्ने सम्झौता भएको छ । दुवै प्रतिष्ठानहरू देशको दुर्गम र जटिल क्षेत्रमा स्थापना भएको सन्दर्भमा दुबैले एक आपसमा सहकार्य गरेर पिछडिएको क्षेत्रको स्वास्थ्य अवस्थालाई सुधार्दै विविध विषयमा संयुक्त रूपमा कार्य गर्ने सम्झौतामा उल्लेख छ ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा।डा। अजय कुमार मिश्रको तर्फबाट रजिष्ट्रार प्रा। श्याम लम्साल र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा। डा। सूर्यमान मेयान्ग्बोले आज सम्झौतामा हस्ताक्षर गरेका छन् ।
सम्झौतामा दुवै संस्थाले जलवायु परिवर्तनले स्वास्थ्य क्षेत्रमा पारेको असर र त्यसका समाधानका उपायहरू तथा हिमाली जडिबुटीहरूको अध्ययन एबं देशभित्र उपलब्ध जडीबुटीबाट स्वदेशमै आधुनिक औषधी उत्पादन गर्न सकिने सम्भावना लगायतका महत्वपूर्ण क्षेत्रमा संयुक्त अनुसन्धान गर्ने उल्लेख छ । वर्तमान समयमा जलवायु परिवर्तन र हिमाली जडिबुटी सम्बन्धित स्वास्थ्य अनुसन्धान राष्ट्रिय र अन्तरराष्ट्रिय रूपमा अत्यन्तै महत्वको विषय हो ।
दुवै संस्थाले दुर्गम क्षेत्रको स्वास्थ्य सम्बन्धी मुद्दाहरूमा संयुक्त अनुसन्धान संचालन गरि स्वास्थ्य सेवा, स्वास्थ्य संरचना सुधार, जनशक्ति व्यवस्थापनमा निरन्तर सहकार्य गर्ने समेत सम्झौतामा उल्लेख छ ।
त्यसैगरी, दुवै संस्थाका प्राविधिक र प्रशासनिक जनशक्तिको एक अर्काको आवश्यकता अनुसार आदान प्रदान गरि सेवा प्रवाह, तालिम, शैक्षिक गतिविधि र अनुसन्धानका क्रियाकलापहरू सूचारू गर्न सहज बनाउने समेत प्रतिवद्दता उल्लेख गरिएको छ ।
संझौताले पिछडिएको क्षेत्रको स्वास्थ्य सेवालाई सुधार गर्ने नेपाल सरकारको नीति तथा कार्यक्रमलाई सफल पार्न एबं समान उद्देश्यका लागि उपलब्ध साधन श्रोतलाई एकीकृत गरि स्वास्थ्य सेवा, शिक्षा र अनुसन्धानसँग सम्बन्धित क्रियाकलापहरू संचालन गर्न सहज हुने विश्वास दुवै प्रतिष्ठानका पदाधिकारीहरूले व्यक्त गरे ।



लाइभदाङ । २८ भाद्र २०८३, आईतवार १४:२६ बजे