राप्ती आधारभूत अस्पताल कालापानीमा अब प्रत्येक बिहीबार निःशुल्क पाठेघरको मुखको क्यान्सर परीक्षण हुने

तुलबहादुर कवँर मगर
सिसहनियाँ, १३ साउन।
दाङको राप्ती गाउँपालिका–५ कालापानीस्थित राप्ती आधारभूत अस्पतालले महिलाहरूका लागि निःशुल्क पाठेघरको मुखको क्यान्सर परीक्षण (भीआईए स्क्रिनिङ) सेवा नियमित रूपमा सञ्चालन गर्ने भएको छ।

अस्पतालले बुधबार सूचना जारी गर्दै साउन १४ गतेदेखि प्रत्येक बिहीबार बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म अस्पतालमै सेवा उपलब्ध हुने जनाएको छ। महिलाहरूमा बढ्दो पाठेघरको मुखको क्यान्सरको जोखिमलाई समयमै पहिचान गरी रोकथाम गर्ने उद्देश्यले सेवा सुरु गरिएको अस्पतालले जनाएको छ।

अस्पतालका अनुसार भीआईए स्क्रिनिङ पाठेघरको मुखमा क्यान्सर हुनुअघि देखिने असामान्य परिवर्तन पहिचान गर्ने प्रभावकारी, सरल र सुरक्षित परीक्षण विधि हो। यो सेवा पूर्ण रूपमा निःशुल्क हुनेछ भने परीक्षणका लागि धेरै समय नलाग्ने, दुखाइ न्यून हुने र कुनै गम्भीर नकारात्मक असर नहुने जनाइएको छ।


यो सेवा ३० देखि ४९ वर्ष उमेर समूहका महिलाहरू तथा तीन वर्ष वा सोभन्दा बढीअघि भीआईए परीक्षण गराएका महिलाका लागि लक्षित गरिएको छ। गर्भवती महिला, पाठेघर निकालिसकेका (हिस्टेरेक्टोमी) महिला र पाठेघरको मुखको क्यान्सर पुष्टि भइसकेका महिलाहरूका लागि भने यस सेवा उपलब्ध नहुने अस्पतालले स्पष्ट पारेको छ।

अस्पतालले पाठेघरको मुखको क्यान्सर सुरुवाती चरणमै पत्ता लागे उपचारबाट पूर्ण रूपमा निको पार्न सकिने भएकाले लक्षित उमेर समूहका महिलालाई नियमित परीक्षण गराउन आग्रह गरेको छ। साथै, आफूले मात्र नभई परिवार र समुदायका अन्य महिलालाई पनि यस सेवाबारे जानकारी गराई समयमै परीक्षण गराउन प्रेरित गर्न अस्पतालले अनुरोध गरेको छ।