
शान्तिनगर, १८ चैत ।
भूमि समस्या समाधान आयोग दाङका अध्यक्ष हुकुम बहादुर बस्नेतले छिट्टै नै जिल्लाका भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूलाई लालपुर्जा वितरण गर्ने गरी काम भइरहेको बताउनु भएको छ ।
शान्तिनगर गाउँपालिकामा सहजीकरण समिति गठनका लागि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष बस्नेतले आयोगको प्रमुख उद्देश्य नै वास्तविक भूमिहीन तथा सुकुम्बासी परिवारलाई जग्गा वितरण गरी उनीहरूको जीवनस्तर सुधार गर्नु रहेको बताउनुभयो ।
जग्गा वितरण प्रक्रिया पारदर्शी, निष्पक्ष र प्रभावकारी बनाउन स्थानीय तह, सरोकारवालाहरू तथा नागरिक समाजको सक्रिय भूमिका आवश्यक रहेको समेत अध्यक्ष बस्नेतले बताउनुभयो । सो अवसरमा शान्तिनगर गाउँपालिका अध्यक्ष प्रमोद बस्नेतको संयोजक तथा उपाध्यक्ष प्रेमा केसी उपसंयोजक रहेको १० सदस्य सहजीकरण समिति समेत गठन गरिएको छ ।
कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष प्रमोद बस्नेतले लालपुर्जा वितरण प्रक्रियामा कुनै पनि प्रकारको राजनीतिक हस्तक्षेप वा अन्य अवरोध हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।



सो अवसरमा उपस्थित स्थानीय अगुवाहरूले भूमिहीन तथा सुकुम्बासीको समस्या समाधानका लागि राज्यले लिएको यो कदम सराहनीय रहेको भन्दै एथाशीघ्र लालपुर्जा वितरण कार्य सम्पन्न गर्न आग्रह गरेका छन् ।
कार्यक्रममा भुमि समस्या समाधान आयोगका जिल्ला सदस्य हिरा देवी पुन, पालिका उपाध्यक्ष प्रेमा केसी, नेकपा एमालेका शान्तिनगर सचिव राकेश वुढाथोकी, नेपाली काङ्ग्रेसका सभापति झलक केसी, नेकपा माओवादीका प्रतिनिधि नेव बहादुर रोका लगाएतकाले बोल्नुभएको थियो ।
शान्तिनगर गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत भेषराज चन्दको स्वागत मन्तव्यवाट सुरू भएको कार्यक्रमको सहजिकरण भूमि समस्या समाधान आयोग शान्तिनगर गाउँपालिका फोकल प्रर्सन यादव भुसालले गर्नुभएको थियो ।
लाइभदाङ । १८ चैत्र २०८१, सोमबार २०:३२ बजे