
तुलसीपुर, १३ साउन । दाङको तुलसीपुर ६ स्थित गोरखा माध्यमिक विद्यालयको एउटा हल मंगलबार दिउँसो अलि भिन्न देखिन्थ्यो । त्यहाँ न गणितका सूत्रहरूका बारेमा बहस भइरहेको थियो, न त विज्ञानका जटिल सिद्धान्तहरू नै रटाइँदै थियो। त्यहाँ त केवल कलिला मस्तिष्कबाट निस्किएका रचनात्मक तरंगहरू र शब्दका रङ्गहरू खेलिरहेका थिए।
अवसर थियो- विद्यार्थीहरूले आफैँले लेखेका कथाहरू सुनाउने विशेष कार्यक्रम।
कक्षा ६ देखि १० सम्मका विद्यार्थीहरू पछिल्लो तीन दिनदेखि एउटा फरक संसारमा हराएका थिए। उनीहरूले यो तीन दिन कथाको संरचना, पात्र निर्माण र कथानक बुन्न सिके । मंगलबार जब उनीहरूले आफ्ना पाण्डुलिपिहरू बोकेर मञ्चमा उभिए र बाचन गर्न थाले, तब हलमा उपस्थित अभिभावक, शिक्षक र अतिथिहरूको अनुहारमा एक किसिमको चमक देखियो ।
विद्यार्थीका कथामा समाजका भोगाइहरू थिए, बाल–कल्पनाका उडानहरू थिए र भविष्यका सम्भावनाहरू झल्किन्थे। उनीहरूका सिर्जना सुनेर अभिभावकहरू मात्र होइन, अतिथिसमेत खुसीले गद्गद् देखिन्थे ।
कार्यक्रममा बोल्दै प्याब्सन तुलसीपुरका अध्यक्ष डम्बर डाँगीले विद्यालयको यो प्रयासको खुलेर प्रशंसा गरे। उनले भने,‘विद्यालयले केवल किताबी ज्ञान मात्रै होइन, यस्ता क्रियाकलापले विद्यार्थीहरुको चौतर्फी विकासमा टेवा पु¥याउछ ।”
शिक्षक खगेन्द्र काफ्लेले विद्यार्थीहरूको कथाको समीक्षा गर्दै गर्दा एउटा महत्वपूर्ण कुरा औंल्याए। उनले केवल तीन दिनको छोटो अवधिमा विद्यार्थीहरूले देखाएको सिर्जनात्मक सीप अद्भुत रहेको बताए । उनको निष्कर्ष थियो— यदि सिकाई सही र प्रभावकारी भयो भने विद्यार्थीले छोटो समयमै ठूलो प्रगति गर्न सक्छन् ।”
गोरखा माध्यमिक विद्यालयले यो कार्यलाई केवल एक पटकको कार्यक्रममा मात्र सीमित राखेको छैन। यो त विगत तीन वर्षदेखि लगातार सञ्चालन हुँदै आएको एउटा उत्सव जस्तै बनेको छ । विद्यालयले विद्यार्थीका सिर्जनालाई मञ्च मात्र दिँदैन, ती कथाहरूलाई पुस्तकको रूपमा प्रकाशन गरेर उनीहरूको उत्साहलाई पनि जीवित राख्ने गरेको छ ।
प्रिन्सिपल विजयमान जीएमले यस अभियानलाई अझै व्यापक बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले भने,‘अब प्रत्येक वर्ष विद्यार्थीहरूले लेखेका कथाहरू विमोचन गरिनेछ ।’



लाइभदाङ । १३ श्रावण २०८३, बुधबार १२:२९ बजे