दंगीशरणमा १२औँ अन्तर्राष्ट्रिय योग दिवस विविध कार्यक्रमसहित सम्पन्न

दंगीशरण,७ असार ।
“स्वस्थ वृद्धावस्थाका लागि योग” भन्ने मूल नाराका साथ दंगीशरण गाउँपालिकामा १२औँ अन्तर्राष्ट्रिय योग दिवस विविध कार्यक्रम आयोजना गरी मनाइएको छ। पतञ्जलि योग समिति दंगीशरण तथा महिला पतञ्जलि योग समिति दंगीशरणको आयोजनामा, दंगीशरण गाउँपालिकाको आर्थिक सहयोग तथा पतञ्जलि योग समिति शान्तिनगर गाउँपालिका र बबई गाउँपालिकाको सहभागितामा योग दिवस मनाइएको हो।

योग दिवसका अवसरमा सहभागी योग साधक–साधिका तथा विद्यार्थीहरूले योगसम्बन्धी नाराले सजिएका प्लेकार्डसहित हेकुली बजार परिक्रमा गरेका थिए। त्यसपछि गाउँपालिका प्राङ्गणमा पुगेर औपचारिक कार्यक्रममार्फत दिवस भव्य रूपमा मनाइएको थियो। कार्यक्रम पतञ्जलि योग समिति दंगीशरणका प्रभारी दीपक विष्टको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा दंगीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरी प्रमुख अतिथि, बबई गाउँपालिका अध्यक्ष कुलबहादुर खत्री तथा पतञ्जलि योग समिति लुम्बिनी प्रदेशका महामन्त्री घनश्याम अधिकारी विशिष्ट अतिथिका रूपमा उपस्थित थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि तथा गाउँपालिका अध्यक्ष शम्भु गिरीले संस्कार, नैतिक शिक्षा तथा स्वस्थ जीवनशैलीका लागि योग अपरिहार्य रहेको बताउनुभयो। उहाँले दंगीशरणवासी नागरिकलाई स्वस्थ राख्न गाउँपालिकाले योग हल निर्माण तथा योग कक्षा सञ्चालनमा विशेष जोड दिएको जानकारी दिनुभयो। विशिष्ट अतिथि बबई गाउँपालिका अध्यक्ष कुलबहादुर खत्रीले योगलाई समाज र राजनीतिसँग जोड्न आवश्यक रहेको उल्लेख गर्दै सरकारका नीति तथा कार्यक्रममै योगलाई प्राथमिकताका साथ समावेश गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो।


त्यस्तै, पतञ्जलि योग समिति लुम्बिनी प्रदेशका महामन्त्री घनश्याम अधिकारीले शारीरिक तथा मानसिक स्वास्थ्य सुदृढ राख्न नियमित योग अभ्यासमा जोडिनुपर्ने बताउनुभयो। योग दिवसका अवसरमा युवा समितिका जिल्ला उपाध्यक्ष यमबहादुर खत्री, पतञ्जलि योग समितिका जिल्ला अध्यक्ष विनोद चौधरीलगायतले पनि मन्तव्य व्यक्त गरेका थिए।

कार्यक्रममा वीरेन्द्र नमूना माध्यमिक विद्यालय हेकुली तथा आधारभूत विद्यालय बाँकी बेटारपुरका विद्यार्थीहरूले योगसम्बन्धी प्रस्तुति दिएका थिए भने लोक चुट्का भजन संरक्षण समितिले सांस्कृतिक प्रस्तुति प्रस्तुत गरेको थियो। श्रीधर शर्माको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन पतञ्जलि योग समितिका जिल्ला सदस्य अमर भुसालले गर्नुभएको थियो।