राजाकोट सामुदायिक वनमा १,१०० बढीको सहभागितामा बृक्षरोपन

दाङ, ९ साउन ।
दाङको दंगीशरण गाउँपालिका वडा नं. २ स्थित राजाकोट सामुदायिक वनमा एक भव्य वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । राजाकोट सामुदायिक वन उपभोक्ता समूह र हाम्रो राजाकोट बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको संयुक्त आयोजनामा उक्त कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा स्थानीयवासी, विद्यार्थी, जनप्रतिनिधि, सुरक्षा निकाय र विभिन्न संघसंस्थाका प्रतिनिधिहरू गरी १,१०० भन्दा बढी मानिसहरूको स्वतःस्फूर्त उपस्थिति रहेको थियो ।

आयोजकका अनुसार, करिब एक दशकपछि यस वन क्षेत्रमा देखिएको यो जनसहभागिता, एकता र अपनत्वले वन संरक्षणको क्षेत्रमा नयाँ ऊर्जा र उत्साह थपेको छ। सहकार्य र नेतृत्व दंगीशरण गाउँपालिकाका अध्यक्ष शम्भु गिरीको प्रमुख आतिथ्यता तथा वन समूहका अध्यक्ष चक्र मिलन विकको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष पिमा कुमारी खड्का र ग्रिन फाउन्डेसन नेपालका अध्यक्ष घनश्याम पाण्डे लगायतका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।


यस अभियानमा दंगीशरण गाउँपालिका हेकुली दाङ, वन तथा कृषि सहज कार्यक्रम, सामुदायिक वन उपभोक्ता महासंघ नेपाल दाङ, ग्रिन फाउन्डेसन नेपाल, डिभिजन वन कार्यालय दाङ, भू तथा जलाधार व्यवस्थापन कार्यालय तुलसीपुर दाङ र ज्ञानोदय ईङ्गलिस बोडिङ स्कुललगायतका विभिन्न सरकारी तथा गैरसरकारी निकायहरूले सहकार्य गरेका थिए ।

संरक्षण र समृद्धिको संकल्प कार्यक्रमका वक्ताहरूले बिरुवा रोप्नु मात्र ठूलो कुरा नभएको बताउँदै तिनको दिगो संरक्षण र हेरचाह गर्नु मुख्य दायित्व भएकोमा जोड दिएका छन् । रोपिएका बिरुवाहरू भावी पुस्ताको भविष्य र हरित समृद्धिुको आधार बन्ने विश्वास व्यक्त गरिएको छ । पर्यटन र उद्यमको सम्भावना राजाकोट क्षेत्र केवल वन संरक्षणमा मात्र नभई पर्यापर्यटन र वन उद्यमका लागि पनि अत्यन्त सम्भावना बोकेको क्षेत्र हो । राजाकोट टावरसम्मको पदयात्रा र यहाँको प्राकृतिक सौन्दर्यलाई उपयोग गर्दै वनमा आधारित उद्यम विकास गर्न सके स्थानीय स्तरमा आर्थिक समृद्धि हासिल गर्न सकिने कुरामा जोड दिइएको छ ।